
काठमाडौं, १० माघ — लिबियाको बेन्गाजी शहरमा एक मस्जिदनजिक दुई कार बम विस्फोट हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।
बीसदेखि ३० अन्य व्यक्ति विस्फोटमा घाइते भएको बताइएको छ । दुईवटा विस्फोट केही मिनेटभित्र भएका थिए ।
शहरको केन्द्रमा रहेको अल–स्लेइमानी टोलमा रहेको मस्जिदअघि पहिलो गाडी विस्फोट भएको थियो । त्यतिखेर मानिसहरू बेलुकाको प्रार्थनापछि भवनबाट बाहिर निस्किरहेका थिए ।
दोस्रो कार त्यही सडकको अर्को कुनामा केही क्षणमै विस्फोट भएको थियो ।
सैन्य अधिकारी र सर्वसाधारण दुवैको विस्फोटमा परी मृत्यु भएको थियो । मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अल–जला अस्पतालकी एक प्रवक्ताले बताइन् ।
विस्फोटमा कसको हात छ भनी प्रस्ट भएको छैन । लिबियामा यस्ता विस्फोटको जिम्मेवारी प्रायः कसैले लिने नगरेको बीबीसी संवाददाता बताउँछन् ।
बीबीसीबाट