
काठमाडौं, १० माघ- दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको 'मार्की प्लेय' घोषणा गरेका छन् । धनगढी क्रिकेट एकेडेमीले बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टोलीका मार्की प्लेयर घोषणा गरेको हो ।
धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा आगामी चैत १७ देखि वैशाख १ गतेसम्म चल्ने उक्त प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।
जसमा पहिलोपटक डिपीएल खेल्न लागेको महेन्द्रनगरको मार्की प्लेयर विनोद भण्डारी छन् । त्यसैगरी चौराहाका सोमपाल कामी, अत्तरियाका दीपेन्द्रसिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल र विराटनगरका पारस खड्का मार्की प्लेयरका रुपमा घोषणा गरिएका छन् ।
उक्त प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पाउनेछ । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले तीन लाख र चौथो हुनेले दुई लाख प्राप्त गर्नेछन् ।
प्रत्येक खेलका म्यान अफ द म्याच घोषित हुने खेलाडीले १० हजार र म्यान अफ द सिरिज हुनेले टिभीएस अपाचे १८० सिसीको मोटरसाइकल पाउनेछन् । त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउने छन् ।
कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले यस किसिमको प्रतियोगिताले नयाँ खेलाडीको विकाससँगै क्रिकेट खेलको विकासमा सघाउ पुग्ने विचार व्यक्त गरे ।