
स्मार्टफोनका धेरै विकल्पहरू देखेर तपाईंको दिमाग चकराउँछ होला । बजारमा हरेक दिन नयाँ नयाँ मोडलका स्मार्टफोनहरू आइरहेका हुन्छन् । आफ्नो आवश्यकताअनुसारको सही स्मार्टफोन किन्नका लागि स्मार्टनेस अपनाउनु जरूरी हुन्छ । फोन किन्दा हतार नगरी आफ्नो बजेटअनुसार फोनको विकल्पमाथि विचार पु–याउनुस् । फोन किन्दा यी कुरामा ध्यान दिनुस् ः
आफ्नो आवश्यकता
अर्काको प्रभावमा परी फोन किन्ने भूल नगर्नुस् किनकि फोनको प्रयोग व्यक्तिपिच्छे फरक फरक हुन्छ । तपाईंलाई चाहिने कुरा फोनमा छ कि छैन अनि बजेटमा अटाउँछ कि अटाउँदैन हेर्नुस् । ठूलो स्क्रीनका पछि नलाग्नुस्, फोनसम्बन्धी अन्य कुरामा पनि ध्यान दिनुस् ।
ब्रान्ड
स्मार्टफोन किन्दा राम्रो ब्रान्डमा ध्यान दिनुस् किनकि प्रसिद्ध ब्रान्डको सफ्टवेयर अप्डेट र कस्टमर सपोर्ट सर्भिसेजको विश्वास गर्न सकिन्छ । ब्रान्डका फोनहरू बजारमा सजिलै भेटिन्छन् । राम्रा कम्पनीका फोनका पुराना प्रयोगकर्ताहरूको प्रतिक्रियाले पनि तपाईंलाई सहायता गर्छ । ब्रान्डको कस्टमर केयर सेन्टर तपाईंको शहरमा छ कि छैन भनी विचार गर्नुस् ।
अपरेटिङ सिस्टम
नेपालमा एन्ड्रोइड प्लेटफर्म सफल छ र ओपन सोर्स चेचर भएका कारण धेरै मोबाइल ब्रान्डले यही अपरेटिङ सिस्टममा फोन बनाएका छन् । एप्पलको आईओएसमा आधारित आईफोनको मूल्य चर्को हुनाले जसले पनि किन्न सक्ने स्थिति हुँदैन । एन्ड्रोइड स्मार्टफोन हरेक मूल्यमा भेटिन्छ ।
प्रोसेसर र –याम
स्मार्टफोनको स्पीड र उसको मल्टिटास्किङ स्तर त्यसको प्रोसेसर र –याममा निर्भर रहन्छ । एन्ड्रोइड फोनको प्रोसेसरमा जति धेर कोर भयो, त्यसको पर्फर्मेन्स त्यति राम्रो हुन्छ । मल्टीकोर प्रोसेसर हुँदा फोनमा धेरै काम एकैचोटि गर्न सजिलो हुन्छ । बजारमा स्न्यापड्रागन, एनभिडिया, क्वालकम, इन्टेल र मिडियाटेक जस्ता प्रोसेसर उपलब्ध छन् । फोनमा कम्तीमा पनि एक जीबी –याम हुनु जरूरी हुन्छ ।
स्क्रीन
स्क्रीन सानो वा ठूलो कस्तो मन पर्छ, त्यो तपाईंमा निर्भर रहन्छ । डिस्प्लेबाहेक फोनको रिजोल्युसन पनि राम्रो हुनुपर्छ किनकि यसैले फोनको स्क्रीनमा देखिने छविको गुणस्तर निर्धारित गर्छ । धेर रिजोल्युसन भएको स्क्रीनले धेर ब्याट्री खान्छ ।
ब्याट्री
स्मार्टफोनको ब्याट्री सबभन्दा महत्त्वपूर्ण प्रोपर्टी हो । आजकलका फोनमा झिक्न मिल्ने र नमिल्ने दुवैथरी ब्याट्री हुन्छन् । जति ठूलो ब्याट्री हुन्छ, स्मार्टफोनको रनिङ टाइम त्यति धेरै बढ्छ । तर ब्याट्री साइज बढ्दा स्मार्टफोनको तौल पनि बढ्छ । फोन किन्दा पहिला त्यसको स्ट्यान्डबाई टाइम र टकटाइमको बारेमा जान्नुस् ।
क्यामरा
आजकल स्मार्टफोन किन्दा धेरै मानिसको ध्यान क्यामरामै पुग्छ । त्यसो हुँदा तपाईंले रिजोल्युसन, रियर क्यामरा, फ्रन्ट क्यामरा, एलईडी फ्ल्याश, अटोफोकस र भिडियो रेकर्डिङका बारेमा जानकारी लिनुस् । फोटो राम्रो खिच्नका लागि कम्तीमा पाँच मेगापिक्सेलको रियर क्यामरा हुनुपर्छ र राम्रो सेल्फीका लागि कम्तीमा पाँच मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनुपर्छ । क्यामराको पर्फर्मेन्स रिभ्यु पनि पढ्नुस् ।
एजेन्सी