०१ असार २०८३, सोमबार

बुधबार दिनभर : राष्ट्रियसभामा ८३ जनाको उम्मेदवारी- १७ निर्विरोध, ६५ वर्षमै बृद्धभत्ता

बुधबार दिनभर : राष्ट्रियसभामा ८३ जनाको उम्मेदवारी- १७ निर्विरोध, ६५ वर्षमै बृद्धभत्ता

काठमाडौं, ११ माघ– माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्णरूपमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । 
सातवटै प्रदेशमा गरी विभिन्न नौं राजनीतिक दलबाट समूहगत रूपमा महिला २६, अन्य २८, दलित १४ र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १५ गरी कुल ८३ जनाको उम्मेदवारी परेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 
दर्ता भएका उम्मेदवारको विरुद्धमा उजुरी दिनका लागि बिहीबार बिहान १० देखि शुक्रबार दिनको ५ बजेसम्मका लागि समय तोकिएको छ । राष्ट्रियसभाका ५६ मध्ये १७ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । बाँकी ३९ सदस्यका लागि माघ २४ गते एकल संक्रमणीय विधिबाट मतदान हुनेछ । 
राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको मनोनयन दर्ताकै क्रममा १७ जना निर्विरोध बनेका हुन् । बुधबार सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी दर्ता भएका मध्ये प्रदेश १, २, ५ र ७ मा केही सदस्यहरु निर्विरोध बनेका छन् ।

को–को भए निर्विरोध?– प्रदेश १ बाट तीन महिला सदस्यका लागि एमालेकी नैनकला ओझा, माओवादीकी विना पोखरेल र कांग्रेसकी सरिता प्रसाईको मात्र उम्मेद्वारी परेको छ । यदि दाबी विरोध प्रक्रियाबाट उम्मेदवारी खारेज नभए उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगले बताएको छ ।
प्रदेश २ बाट पाँच सदस्य निर्विरोध भएका छन् । खुलातर्फका ३ सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको छ । महिला तीन सीटमा माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिला यादवको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै दलित कोटामा फोरमका रामप्रीत पासवान र अल्पसंख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लालको मात्रै उम्मेदवारी परेको छ ।
प्रदेश ५ बाट राष्ट्रियसभामा तीन महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटाको मात्रै उम्मेदवारी परेको छ । दावी विरोधलगायतको प्रक्रिया पूरा गरेपछि उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा हुनेछन् ।
प्रदेश ७ बाट भने खुला र महिलातर्फ ३÷३ सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन् । महिलामा एमालेकी इन्दू कडेरिया विष्ट र कमला ओली, कांग्रेसकी तारादेवी भट्टको मात्रै उम्मेदवारी परेको छ ।
आरक्षण सिटमा तोकिएको संख्यामा मात्रै उम्मेदवारी परे पनि तत्कालै उनीहरुलाई निर्विरोध भएको घोषणा नगरिने निर्वाचन कार्यालयले जनाएको छ । 


६५ वर्षमै बृद्धभत्ता– सरकारले ६५ वर्षकै उमेरमा बृद्धभत्ता दिने निर्णय गरेको छ । यसअघि  ७० वर्ष उमेर पुगेपछिमात्रै बृद्धभत्ता दिँदै आएकोमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले ६५ वर्ष पुगेपछि नै बृद्धभत्ता दिने निर्णय गरेको  हो । 
बैठकले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए । सरकारको निर्णयसँगै अब भूकम्प पीडितले  अनुदानस्वरुप रु ४ लाख पाउने भएका छन् ।

मध्य हिँउदमा वर्षा– हिँउद सकिनै लाग्दा बुधबार एकाएक मैसममा बदली भयो । देशभर हल्का वर्षा भयो भने, उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्यो । पानी पर्दा देशभरका कृषकलाई थोरै भए पनि राहत मिलेको छ ।
हिउँदे बाली तथा बर्खे बालीका लागि समयमा पानी नपर्ने मौसम यसपटक पनि दोहोरियो । पुस महिनाको दोस्रो सातासम्ममा पानी परिसक्नुपर्नेमा मध्य माघमा आइपुग्दा पानी परेको छ । यसले गहुँ बालीलाई त्यति धेरै फाइदा नपुगे पनि सुख्खा रहनुभन्दा राम्रो भएको विज्ञहरुको भनाई छ ।
कृषि विकास मन्त्रालयका सूचना अधिकारीसमेत रहेका वरिष्ठ कृषि अर्थविद् मणिरत्न अर्यालका अनुसार गहुँ बालीका लागि पुस दोस्रो साताभित्र पानी परे धेरै राम्रो मानिन्छ । ‘सामान्यतया हामीकहाँ मंसिर १५ गतेभित्र गहुँ छरिसकिन्छ, त्यसको २१ दिनभित्र पानी परे सबैभन्दा राम्रो मानिन्छ, तर पछिल्ला वर्षको अवस्था हेर्दा त्यो समयमा पानी पर्दैन, जसका कारण गहुँ उत्पादनमा समस्या देखिएको छ,’ उनले लोकान्तरसँग भने ।


चक्रे मिलनलाई सफाइ– विशेष अदालत काठमाडौंले मिलन गुरुङ (चक्रे मिलन) लाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ । न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलाशले गुरुङलाई सफाइ दिएको अदालतका श्रेष्तेदार विनकुमार श्रेष्ठले जानकारी दिए । 
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तर्फबाट सरकारी वकिलले वहस गरेर दुवै पक्षको सुनुवाइ सकिएपछि गुरुङलाई सफाइ दिने फैसला सुनाएको हो । अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले गुरुङसहित पाँच गुन्डा नाइकेको सम्पत्तिबारे अनुसन्धान गरी २०७० साल जेठ ५ गते रु सात करोड दुई लाखभन्दा बढी रकमको विगो राखी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अध्ययन प्रतिवदेन सार्वजनिक– नेकपा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरुले वीरगञ्जको छपकैयामा भारतले ५० विगाहा भन्दाबढि जमिन मिचेको दावी गरेका छन् । दुईदलमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा वीरगंजको छपकैयामा भारतले ५० विगाहाभन्दा बढि जमिन मिचेको उल्लेख गरिएको हो । 
सीमा विवादको समाचार सार्वजनिक भएपछि स्थलगत अध्ययनका लागि अनेस्ववियुका अध्यक्ष नविना लामा र अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोली वीरगंज गएको थियो । 


वाणिज्य बैंकको तयारी– राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन आवश्यक तयारी अघि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने जानकारी दिइयो ।
बैंकले अहिले नै १५ शाखा सञ्चालनको तयारी अवस्थामा रहेको र जनशक्ति आपूर्ति हुनासाथ ती शाखा तुरुन्त सञ्चालनमा आउने जनाएको छ ।

विदेशका खबर– भारतस्थित विहारको चर्चित चारा घोटालामा पूर्वमुख्यमन्त्री लालूप्रसाद यादवलाई थप ५ वर्ष जेल सजायँ सुनाइएको छ । बुधबार सिबीआईको विशेष अदालतले चारा घोटालासँग सम्बन्धित तेस्रो मुद्दामा लालूप्रसाद यादवलाई ५ वर्ष सजाय र १० लाख जरिवाना तिर्नुपर्ने फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
यो मुद्दा चाइबासा कोषको हिनामिनासँग सम्बन्धित छ । १९९० मा चाइबासा ट्रेजरीबाट अवैध रुपमा ३३ करोड ६७ लाख निकासा गरी हिनामिना गरिएको थियो । 

खेल खबर–  थ्रीस्टार क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल निर्णयका लागि टाइब्रेकरमा धकेलिएको थियो । 
टाइबे्रकरमा थ्रीस्टारका बुद्ध चेम्जोङ्ग, निराजन खड्का, सुनिल बल, अनन्त थापा र धिजन सुब्बाले गोल गर्न सके भने आर्मीका तर्फबाट नवयुग श्रेष्ठ, सन्तोष तामाङ्ग र दीप लामाको प्रहार सही भयो तर अरिर विष्टको प्रहार बाहिरियो । विजेताले मनाङमस्र्याङ्दी क्लब र भारतको गरिफा स्पोर्टिङ्ग क्लब कोलकाताबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग माघ १४ गते उपाधिको लागि भिडन्त गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्