
काठमाडौं, ११ माघ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव तथा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अहिले अकूत सम्पत्तिको मुद्दामा छानविन गरिरहेको छ । सरकारी पदमा रहेर अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले २ महिनादेखि शर्मामाथि अनुसन्धान गरिरहेको हो ।
कर फर्छ्यौट आयोगको सदस्य सचिव हुँदा अनियमित ढंगबाट कर छुट दिएर भ्रष्टाचार गरेको भन्दै अख्यिारले दायरको गरेको मुद्दामा भने शर्मा १ करोड धरौटी तिरेर रिहा भएका थिए । विशेष अदालतका न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको मंसिर ५ गतेको इजलासले शर्मालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
भ्रष्टाचारको मुद्दामा धरौटीमा रिहा भएलगत्तै अख्तियारले शर्मामाथि अकूत सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धान शुरु गरेको थियो । तर शर्माले भने अख्तियारको अनुसन्धानमा असहयोग गरिरहेका छन् ।
अख्तियारले अकूत सम्पत्तिको मुद्दामा शर्मासँग प्रारम्भिक बयान लिइसकेको छ । अख्तियार स्रोतका अनुसार शर्माले अकूत सम्पत्तिको मुद्दामा दुईपटक बयान दिइसकेका छन् । तर, पछिल्लो पटक भने शर्माले अख्तियारको बयान छल्न आफू गम्भीर बिरामी रहेको बहाना बनाउँदै आएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानमा उपस्थित हुन भन्दै पटक–पटक ताकेता गरिसकेको छ ।
‘अकूत सम्पत्तिको मुद्दामा चूडामणि शर्मासँग दुईपटक गरी प्रारम्भिक बयान लिने काम भएको छ,’ अख्तियार स्रोतलेलोकान्तरसँग भन्यो, ‘पछिल्लो समय उनले बयान दिन मानेका छैनन् । बयानका लागि उपस्थित हुन पटक पटक ताकेता गर्दा पनि उनी सम्पर्कमा आएका छैनन् ।’
अख्तियारको टोलीले अघिल्लो साता मात्रै बयानमा उपस्थित हुन भन्दै चूडामणि शर्मालाई ताकेता गरेको थियो । तर, शर्माकी पत्नीले श्रीमान् (चूडामणि) गम्भीर बिरामीले थलिएकाले बयानमा उपस्थित हुन नसक्ने भन्दै अख्तियारलाई जवाफ पठाइन् ।
‘शुरुमा रुघा–खोकी लागेको भन्दै जवाफ पठाइयो,’ अख्तियार स्रोतले भन्यो, ‘पछि शर्मापत्नीले नै पूरानो गम्भीर रोग बल्झिएकाले बयानमा उपस्थित हुन नसक्ने भनेर जवाफ पठाउनुभएको छ ।’
शर्मालाई पक्राउ गर्ने तयारीमा अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को सातासम्म पनि शर्मा बयान दिन उपस्थित नभए पक्राउ गर्ने तयारी गरेको छ । शर्मालाई बयानका लागि उपस्थित हुन अर्को साता म्याद टाँस गरिने र उपस्थित नभए पक्राउ गरेर बयान लिने अख्तियारको तयारी छ ।
‘आयोगले पटक–पटक ताकेता गर्दा पनि बयानका लागि आएनन् भने आयोगलाई पक्राउ गर्ने अधिकार छ,’ अख्तियार स्रोतले लोकान्तरसँग भन्यो, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा (१६) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को दफा (१५) बमोजिम पक्राउ गरी आयोगले शर्मासँग बयान लिन सक्छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा (१६) को उपदफा (१) मा अभियुक्तलाई थुनामा राखेर बयान लिन सकिने व्यवस्था गरिएको छ ।
‘आयोगले भ्रष्टाचारको आरोपमा कारबाही चलाएको कुनै व्यक्तिले कुनै प्रमाण लोप वा नाश गर्न सक्ने वा आयोगको कारबाहीमा बाधा व्यवधान वा प्रतिकूल प्रभाव पार्न सक्ने पर्याप्त कारण विद्यमान भएमा आयोगले निजलाई प्रचलित कानून बमोजिम थुनुवा पूर्जी दिई थुनामा राख्न सक्नेछ,’ एनेको दफा (१६) को उपदफा (१) मा भनिएको छ ।
२० करोड बढी सम्पत्तिको स्रोत खुलेन
कर फर्छ्यौट आयोगको सदस्य सचिव हुँदा आर्थिक अनियमिता गरेको अभियोगमा गत जेठ १९ गते पक्राउ गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ पाने फाराम भराएको थियो । फाराम भर्दा शर्माले आफूसँग करिब २३ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको विवरण अख्तियारमा पेश गरेका थिए ।
उनले लोकसेवा आयोगका तयारी सम्बन्धी किताब बेचेर आफूले २३ करोड रुपैयाँ कमाएको विवरण अख्तियारलाई बुझाएका थिए । तर, अख्तियारको अनुसन्धानमा भने २० करोडभन्दा बढीको सम्पत्तिको स्रोत खुल्न सकेको छैन ।
‘शर्माले आफूसँग २३ करोड बराबरको सम्पत्ति रहेको भनेर विवरण पेश गरेका थिए,’ अख्तियार स्रोतले भन्यो, ‘तर उनले पेश गरेको सम्पत्ति विवरणबारे छानवीन गर्दा २० करोड रुपैयाँभन्दा बढी बराबरको सम्पत्तिको स्रोत खुलेको छैन ।’