१३ असार २०८३, शनिबार

भन्सालीका फिल्म किन विवादित हुन्छन् ?

भन्सालीका फिल्म किन विवादित हुन्छन् ?

काठमाडौं, ११ माघ — बलिउडका फिल्म निर्देशक सञ्जय लीला भन्सालीको पद्मावतको भारतका विभिन्न भागमा हिंस्रक विरोध भइरहेको छ । 

उत्तर भारतका कैयौं शहरमा धारा १४४ लगाइएको छ । 

तर भन्सालीको फिल्म विवादमा परेको यो पहिलो अवसर हैन । 

उनका पछिल्ला कतिपय फिल्महरूले विवादको सामना गरेका छन् । 

पद्मावत
पद्मावतको शूटिङमै अनि ट्रेलर सार्वजनिक भएदेखि नै विवाद शुरु भइसकेको थियो । 

फिल्म नै सार्वजनिक हुनुअघि पनि अहमदाबाद र कानपुरका सिनेमाघरबाहिर हिंस्रक विरोधका घटना भए । 

भन्सालीले जानीबुझी समुदायविशेषका भावनाहरू भड्काउने फिल्म बनाउने गरेको आरोप लगाइन्छ । 

विवाद बढेपछि फिल्मको नाम पद्मावतीबाट पद्मावत बनाइएको छ अनि कतिपय दृश्यहरू काटिएको छ । तैपनि विवाद कायम छ । 

बाजीराव मस्तानी
सत्रौं शताब्दीका शासक पेशवा बाजीराव द्वितीयमाथि बनेको फिल्म बाजीराव मस्तानीले पनि विवादको सामना गरेको थियो । 

फिल्ममा भन्सालीले फिल्मका दुई पात्र काशीबाई र मस्तानीलाई 'पिंगा द पौरी' गीतमा नचाएका थिए । 

पेशवाईमा शाही महिलाले यसरी नाच्ने नगरेको बताइएको थियो । इन्दौर राजघरानाले पनि फिल्ममाथि आपत्ति उठाएको थियो । 

पेशवा बाजीरावका वंशजहरूका अनुसार, बाजीराव र मस्तानीका बीच जम्मा एकचोटि भेट भएको थियो । तर फिल्ममा उनीहरूका बीचको प्रेम देखाइएको छ । 

विवाद भएपनि फिल्मले बेस्सरी पैसा कमायो । 

गोलियों का रासलीला
बाजीराव मस्तानीअघि दीपिका पादुकोण र रणवीर सिंहलाई लिएर रामलीला फिल्म बनाएका थिए । 

शुरुमा रामलीला नाम राखिएको यो फिल्ममा विवाद भएपछि भन्सालीले फिल्मको नाम परिवर्तन गरेर राम–लीला गोलियों का रासलीला राखे । 

फिल्ममा प्रमुख पात्रहरूको नाम जडेजा राखिएकोमा राजपूत समुदायले विरोध गरेपछि सनेडा र राजाडी थर राखियो । 

फिल्ममा प्रयोग भएको रवीन्द्रनाथ टेगोरको कविता 'मोर बनी थनघट करे'को गुजराती अनुवादमा पनि विवाद उठ्यो । 

कविताको अनुवाद गुजराती कवि जवरहन्द मघानीले गरेका हुन् तर उनलाई क्रेडिट दिइएन । 

गुजारिश
हृत्तिक रोशन र ऐश्वर्या रायको प्रमुख भूमिका भएको यो फिल्मका सम्बन्धमा सलमान खानले आपत्तिजनक बयान दिएका थिए । 

अनि फिल्मका निर्माताहरूमाथि कथा चोरेको आरोप लागेको थियो । 

देवदास
भन्सालीको महत्त्वपूर्ण फिल्म देवदासको एक गीत डोला रे डोलाका सम्बन्धमा पनि विवाद उठेको थियो । 

देवदासको मूल उपन्यासमा पारो र चन्द्रमुखीको भेटघाट हुँदैन । तर फिल्ममा पारो बनेकी ऐश्वर्या र चन्द्रमुखी बनेकी माधुरीले सँगै डान्स गर्छन् । 

भन्सालीले जानीबुझी विवाद उत्पन्न हुने विषय छानेको आरोप लगाइन्छ । तर यी विवाद भएपनि उनी सिनेमाटोग्राफीका लागि चर्चित निर्देशक हुन् । 

उनका फिल्ममा कुनै अभिनेता वा अभिनेत्री भन्दा पनि क्यामरावर्क फिल्मको असल नायक हुन्छ । भन्सालीको क्यामराले पुस्तकमा उल्लिखित भारतका राजघरानाहरूको वैभवशाली इतिहासलाई ७० एमएमको पर्दामा प्रस्तुत गर्छ ।
 
बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्