
काठमाडौं, १२ माघ- ‘मूल्य महङ्गो अनि झलक्क देख्दा टलक्क’ छ भन्दैमा फलफूल तथा तरकारी खाइनहाल्नुस् । तपाईंले सेवन गरेको फलफूल र तरकारीले तपाईंको स्वास्थ्यमाथि गम्भीर असर गर्न सक्छ । अहिले बजारमा पाइने अधिकांश फलपूmल तथा तरकारी विषादीयुक्त रहेको पाइएको छ ।
विषादीको प्रयोग बढ्दो
नेपालमा कृषिजन्य उत्पादनमा विषादीको प्रयोग गर्ने क्रम बढेको छ । आर्थिक वर्ष २०७२/७३ मा मात्रै नेपालमा ५ लाख ७४ हजार ६० किलो विषादी खपत भएको थियो । यो विषादी खरिदका लागि ६९ करोड ४८ लाख ४ हजार ७१ रुपैया“ खर्च भएको छ । सबैभन्दा धेरै विषादी तरकारीमा खपत हुने गरेको छ ।
बाली संरक्षण निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीका अनुसार, खपत भएको विषादीमध्ये तरकारीमा मात्रै ८५ प्रतिशतसम्म प्रयोग गरिन्छ । कृषकले बोट ठूलो बनाउन, फल धेरै फलाउन र लामो समयसम्म टिकाइराख्न आवश्यकताभन्दा बढी मल र घातक विषादी प्रयोग गर्ने गरेका छन् । कृषकले माटोको उर्बरता नासिने ढंगले मल तथा विषादी प्रयोग गर्ने तरिका नमिलाउ“दा उत्पादनमा धेरै समस्या देखिने गरेको छ ।
विषादी परीक्षण संयन्त्र फितलो
सरकारले तरकारी तथा फलफूलको विषादी परिक्षण गर्ने भन्दै बाली संरक्षण निर्देशनालय मातहतमा रहने गरी द्रुत विषादी अवशेष विश्लेषण इकाई खडा गरेको छ । जसले कालिमाटी तरकारी बजारमा ल्याइएका तरकारी तथा फलपूmलको नमुना परीक्षण गर्छ । तर, परीक्षण संयन्त्र यति कमजोर छ कि, जसले बिहान ६ बजेभित्र भित्रिएका फलफूल र तरकारीको मात्रै नमुना परीक्षण गर्छ । त्यसपछि भित्रिएका तरकारी तथा फलपूmल नमूना परीक्षण नै नभई सिधै बजारमा पठाइन्छ ।
अर्को अचम्म त के छ भने सार्वजनिक विदाको दिन त कालिमाटी भित्रिएका फलफूल तरकारीको पनि कुनै परीक्षण गरिँदैन । यो कुरा, बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदी पनि स्वीकार्छन् । अझ लोडसेडिङ अर्थात केही कारणले बत्ती गयो भने पनि परीक्षणको काम बन्द हुन्छ । त्यो समयमा तरकारी तथा फलफूल परीक्षण नै नगरि सिधै बजारमा पुर्याइन्छ ।
जानकारहरुका अनुसार, तरकारीमा थुप्रै प्रकारका विषादीहरु प्रयोग हुन्छन । तर, द्रुत विषादी अवशेष विश्लेषण इकाइले अर्गानिक फास्फेट र कार्वानेट नामक विषादी मात्र परीक्षण गर्छ अरु विषादी परीक्षण नै गर्न सक्दैन ।
अर्कातिर भारत लगायत विभिन्न ठाउ“बाट काठमाडौं आयात हुने फलफूल तथा तरकारी कालिमाटी फलफूल तथा तरकारी बजार, कुलेश्वर र बल्खु तरकारी बजारमा भण्डारण गरिने भए पनि कालिमाटीबाहेक अन्य स्थानको तरकारी तथा फलफूलको नमुना परीक्षण नै हुँदैन ।
विषादीका कारण स्वास्थ्यमा पर्ने असर
वीर अस्पतालका निर्देशक समेत रहेका ग्याष्ट्रोइन्ट्रेलोजिष्ट डा. भूपेन्द्र बस्नेतका अनुसार, विषादी युक्त तरकारीको सेवनबाट तत्काल बान्ता हुने, पेट दुख्ने, झाडापखाला लाग्ने, खाना मन नलाग्ने, टाउको दुख्ने, एलर्जी हुने, श्वासप्रश्वासमा समस्या देखिने, आँखा-नाक पोल्ने जस्ता असर देखिन्छन् ।
त्यस्तै दीर्घकालीन रुपमा हेर्दा क्यान्सर, ट्युमर, नपुंसकता, बाँझोपन, विकृत बच्चाको जन्म, नसामा समस्या, अन्धोपना जस्ता समस्या देखिन्छन् । अन्तमा विरामीको मृत्युसमेत हुनसक्छ ।
विषादीका कारण बर्सेनि ३ लाख ५५ हजारको मृत्यु
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार विषादीकै कारण विश्वमा हरेक वर्ष ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ ।
४ करोड मानिसमा विषादीले कुनै न कुनै रूपमा असर गरेको हुन्छ । तर, नेपालमा भने कृषिजन्य उत्पादनमा विषादीको प्रयोगबाट स्वास्थ्यमा पर्ने असरबारे सरकारी तबरबाट कुनै पनि अनुसन्धान गरिएको छैन ।
विषादीको बढ्दो प्रयोग र असरका विषय बारम्बार बाहिर आए पनि नेपालमा विषादीको परीक्षण संयन्त्र एकदमै फितलो छ ।