
झापा, २० माघ- झापा, भद्रपुरका श्रीबहादुर नेम्वाङ १० वर्षदेखि कोमामा छन्, त्यो पनि विदेशी भूमिमा । कतारको हमाद अस्पतालमा रहेका ३७ वर्षे नेम्वाङको खबर उनका आफन्तलाई थाहा नभएको होइन । सबै जान्दाजान्दै पनि उद्धार गरेर घर ल्याउन नेम्वाङ परिवारसँग उपाय छैन । आर्थिक अवस्था पनि ज्यादै नाजुक छ ।
नेम्वाङका आमाबुबा बितिसके । दुइटी बहिनी र एउटा भाइ छन् । बहिनीको बिहे भइसकेको छ । जेठी बहिनीको हालत पनि श्रीबहादुरकै जस्तो छ । वैदेशिक रोजगारीमा खाडी पुगेकी उनको त्यहाँबाट फर्किएलगत्तै मानसिक सन्तुलन गुमेको बहिनी भावनाले बताइन् ।
आजको कान्तिपुर लेख्छ- भावनाले दाजुको नागरिकताको तस्बिर मात्रै देखेकी थिइन् । कान्तिपुरको शुक्रबारको अंकमा प्रकाशित श्रीबहादुरको पछिल्लो तस्बिर उनले निकैबेर नियालिरहिन् । बोल्दाबोल्दै उनको गला अवरुद्ध भयो । ‘यस्तो हुनुभएछ मेरो दाजु,’ भावनाले तस्बिर सुमसुम्याउँदै भनिन्, ‘दाजुलाई विदेशमै मर्न दिने मन त छैन ।’