२३ असार २०८३, मंगलबार

प्रतिनिधिसभाको नतिजा फागुन ५ भित्र- समानुपातिकको नाम दिने समय ३ दिन मात्रै

माघ २०, २०७४
प्रतिनिधिसभाको नतिजा फागुन ५ भित्र- समानुपातिकको नाम दिने समय ३ दिन मात्रै

काठमाडौं, २० माघ– निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक विजयी उम्मेदवारको नाम प्रस्तावित गर्न दलहरूलाई दिइने समयसीमा घटाएको छ । आयोगले समानुपातिक निर्वाचन निर्दे्शिका संशोधन गरी ७ दिनलाई ३ दिनमा झारेको हो । 

प्रतिनिधिसभा परिणाम ढिलो भएकोमा आलोचना बढेपछि केही दिन छिटो दिन आयोगले निर्दे्शिका संशोधन गरेको हो । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको अन्तिम नतिजा फागुन ५ भित्र दिने तयारी छ ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले प्रतिनिधिसभाको परिणाम कसरी छिटो दिन सकिन्छ भन्ने उपाय निकाल्ने क्रममा निर्देशिका संशोधन गरिएको बताए । ‘संवैधानिक र कानुनी प्रावधानका कारण प्रतिनिधिसभा निर्वाचन परिणाम दिन राष्ट्रिय सभा निर्वाचन पर्खिनुपरेको हो,’ उनले भने, ‘राष्ट्रिय सभा निर्वाचन परिणामपछि द्रुत गतिमा काम गरेर प्रतिनिधिसभाको परिणाम दिने आयोगको तयारी छ ।’

पौडेलले ढिलोमा फागुन ५ गते प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिसमक्ष बुझाइसकिने बताए । उनका अनुसार राष्ट्रिय सभाको परिणाम माघ २५ गते आइसक्ने र माघ २६ गते समानुपातिकको नामावली बुझाउन दलहरूलाई ३ दिन समय दिएर पत्राचार गरिने तयारी छ ।

दलहरूले नाम बुझाउने अवधि माघ २९ सम्म पाउने छन् । ‘आयोग प्रतिनिधिसभाको परिणाम दिन आतुर छ, यसमा दलहरूले पनि सघाउनुपर्छ,’ आयुक्त पौडेलले भने, ‘३ दिनको अवधिभित्र दलहरूले नियमानुसार क्रम आबद्धता र क्लस्टर मिलाएरसूची बुझाए परिणाम अझ छिटो दिन सकिन्छ । सच्याउन समय दिनै पर्दैन ।’, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्