
काठमाडौं, २० माघ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार चल्न नसक्दा कमजोर भएको बताएका छन् ।
शंखमुलमा रहेका पाँचवटा टोलसुधार समितिले शनिबार हनुमानमार्गमा संयुक्त रुपमा आयोजना गरेको ‘बधाई तथा सम्मान कार्यक्रम’मा उनले भने- 'प्रजातन्त्रका लागि लडेको पार्टी प्रजातान्त्रिक पद्दतिअनुसार चल्न नसक्दा कमजोर भएको हो ।'
'अब पार्टीलाई जनताको लोकप्रिय पार्टी बनाउनुपर्छ, त्यसका लागि म लड्नेछु,'– नेता सिंहले भने ।
पूर्वमहामन्त्री सिंहले निर्वाचन भएको दुईवर्ष बित्दा पनि पार्टीको केन्द्रीय समिति, पदाधिकारी र विभागले पूर्णता नपाउनु दुःखद कुरा भएको चर्चा गर्दै जनताको जनादेशअनुसार काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने स्पष्ट पारे ।
'हामी संसद्मा राम्रो काम गर्नेलाई सहयोग र नराम्रो काम गर्नेलाई खबरदारी गर्छौँ,' उनले भने ।
काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेता सिंहले आफ्नो क्षेत्रका समस्यालाई संसद्मा राख्नका लागि मतदाताले बेलाबेलामा जनप्रतिनिधीको खबरदारी गर्नुपर्ने बताउँदै राष्ट्रिय गौरवका योजना निर्माणमा सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।