
धनगढी, २१ माघ– प्रदेश नम्बर ७ को ऐतिहासिक प्रदेशसभा बैठक शुरु भएको छ । ७ नम्बर प्रदेशकाे अस्थायी मुकाम धनगढीस्थित जिल्ला समन्वय समितिमा राखिएको प्रदेशसभाको हलमा बैठक शुरु भएको हो ।
५३ जना सांसद रहेकाे ७ नम्बर प्रदेशकाे बैठकको अध्यक्षता ज्येष्ठ सांसद दिव्येश्वरी शाहले गरेकी छन् । सभामा नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भीम रावल र माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्यमा निर्वाचित लेखराज भट्ट अतिथिका रुपमा सहभागी भएका छन् ।
सभामा पहिलो धारणा राख्दै नेकपा एमालेका सांसद प्रकाश बहादुर शाहले ७ नम्बर प्रदेशलाई देशकै समृद्ध प्रदेश बनाउन अग्रसर हुनुपर्ने बताए । ७ नम्बर प्रदेशमा जलविद्युतको प्रचुर सम्भावना रहेको बताए । उनले १० हजार मेगावाटको माथिल्लो कर्णाली, ८ हजार मेगावाटको पञ्चेश्वर र ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाले प्रदेशकाे मुहार फेरिने बताए ।
७ नम्बर प्रदेश यार्सागुम्बा लगायतका बहुमूल्य जडिबुटीको भण्डार रहेको भन्दै शाहले प्राकृतिक स्रोतसाधनको सही प्रयो गर परिचालनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।
एमालेका शाहपछि धारणा राख्दै नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले पश्चिम सेती जलविद्युत प्रदेशले आफ्नै स्रोत र साधनबाट बनाउनुपर्ने बताए । उनले अधिकारसम्पन्न संविधान जारी भइसकेको भन्दै अब आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए ।
नेकपा माओवादी केन्द्रका सांसद त्रिलोचन भट्टले जलविद्युतको विकास गर्न सके मात्रै ७ नम्बर प्रदेश देशकै समृद्ध प्रदेश बन्न सक्ने बताए । उनले जलविद्युतको विकासका लागि प्रदेशले आन्तरिक पूँजी परिचालन गर्नुपर्ने उनको भनाइ थियो । माओवादी सांसद भट्टले कृषिलाई आधुनिकीकरण गर्न योजना अगाडि सार्नुपर्ने बताए ।