
इटहरी, २२ माघ- — बलात्कार घटनामा मिलापत्र गराएको अभियोगमा प्रहरीले गठन गरेको छानबिन समितिले जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीलाई समेत छानबिनको घेरामा राखेको छ । इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक मात्र र अञ्चल प्रहरी प्रमुखको भूमिकामा माझी आफैं रहेका बेला बलात्कारको मिलापत्र भएको थियो ।
माझीले घटना इलाका प्रहरी कार्यालयमा भएको र मुद्दा चलाउने अधिकार पनि इलाकालाई नै हुने भएकाले आफूलाई मिलापत्रबारे थाहा नभएको बताउँदै आएका छन् । उनले पीडितबाट उजुरी नआएकाले मुद्दा अघि बढाउने अवस्था नरहेको बताएका थिए । उनी अहिले चार दिनको बिदामा छन् ।
मुद्दा नचलाई प्रहरी कार्यालयभित्रै पीडित र पीडकबीच मिलापत्र गराउने इप्रका इटहरीको मुद्दा फाँटका सई भीमबहादुर खत्री प्रदेश १ प्रहरी कार्यालय विराटनगर, रानी तानिएका छन् । घटनाका बेला इप्रका इञ्चार्जको भूमिकामा रहेका इन्स्पेक्टर चिरञ्जीवी दाहाललाई सोमबारदेखि प्रदेश १ प्रहरी कार्यालय तानिँदै छन् । घटना सार्वजनिक भएदेखि नै दाहाललाई कुनै जिम्मेवारी दिइएको छैन ।
मिलापत्रको डकुमेन्ट गायब बनाउन सक्ने र अनुसन्धानमा प्रभावित गर्न सक्ने कारण देखाउँदै दुवैलाई रानी तानिएको हो । एसएसपी हरिबहादुर पालको संयोजकत्वमा प्रहरीमाथि छानबिन गर्न बनेको समितिले प्रहरी कार्यालयभित्र गरिएको मिलापत्रको कागज आइतबार फेला पारी अञ्चल प्रहरी कार्यालय लगेको छ, कान्तिपुरमा खबर छ ।