
काठमाडौं, २२ माघ– प्रदेश नम्बर २, ५, ६ र ७ मा आइतबार बसेको प्रदेशसभा बैठकले सभामुख चयनका लागि मिति तय गरेको छ । संघीयता कार्यान्वयनको महत्वपूर्ण आधारका रुपमा रहेको प्रदेशसभाका सबै बैठकले पहिलो चरणमा सभामुख चयनलाई नै पहिलो कार्यसूची बनाएका छन् । बैठकले अन्तरिम कार्यविधि पनि पारित गरेका छन् ।
प्रदेशसभाका बैठक व्यवस्थापिका–संसद्को बैठक झैँ संसदीय विधि र प्रक्रियाअनुसार नै चलाइएको छ । प्रदेश नं १ र ४ को पहिलो बैठक सोमबार बस्नेछ । प्रदेश नं ३ को बैठक यसअघि नै माघ १८ गते हेटाँैडामा सम्पन्न भइसकेको छ ।
यही माघ १८ गतेको बैठकले प्रदेश ३ को सभामुख चयनका लागि माघ २७ गतेको मिति तय गरिएको छ । सचिवालयकाअनुसार आइतबार बसेको प्रदेशसभाको बैठकले प्रदेश १ मा माघ २९ गते, प्रदेश २ मा फागुन २, प्रदेश ५ फागुन २ गते, प्रदेश ६ मा माघ २९ र प्रदेश ७ माघ २९ गते सभामुख चयन गर्ने कार्यसूची तय गरिएको छ ।
प्रदेशसभाका बैठकले सभामुखको चयनको मुख्य कार्यसूची तय गरेपछि प्रमुख राजनीतिक दलकाबीचमा समेत छलफल प्रारम्भ भएको छ ।
मौन अवधि शुरु– राष्ट्रियसभा सदस्यको आउँदो बुधबार हुने निर्वाचनका लागि आइतबार मध्यरातीदेखि मौन अवधि शुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताअनुसार मध्यरातिदेखि मौन अवधि शुरु भएको जनाएको छ ।
मौन अवधिमा उम्मेदवार, कार्यकर्ता, मतदाता, सञ्चारमाध्यम लगायत कुनै पनि संघ संस्थाले चुनाव प्रचार–प्रसारका गतिविधि गर्न नपाइने आयोगका प्रवक्ता नवराज ढकालले बताए । आयोगले सामाजिक संजाल तथा कुनै पनि प्रविधिको प्रयोग गरेर भोट माग्न नपाइने जनाएको छ । मौन अवधीमा चुनाव प्रचारप्रसार गरेको पाइए सम्बन्धित दलका उम्मेदवारलाई एक लाख रुपैयाँ जरिवाना वा उम्मेदवारी नै खारेज हुनेसम्मको कारबाही हुनेछ ।
फेरि अर्को निवेदन– प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै डा. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दर्ता गराएका छन् । यसअघि काठमाडौँमा नागरिकताको विवरण माग गर्दै निवेदन दिएका डा. केसीले पराजुलीको स्थायी ठेगाना तनहुँमा वारेसमार्फत निवदेन दिएका हुन् ।
केसीका तर्फबाट शशी विक्रम कार्कीले निवेदन दर्ता गरेका छन् । यसअघि केसीले माघ १७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएका थिए ।
काठमाडौं भन्दा लुम्बिनी प्रदूषित– राजधानी काठमाडौँ उपत्यका भन्दा लुम्बिनी बढी प्रदूषित भएको पाइएको छ । वातावरणीय प्रदूषण मापन तथ्यांकका आधारमा लुम्बिनी काठमाडौँभन्दा पनि बढी प्रदूषित देखिएको हो ।
वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीबाट प्राप्त तथ्यांकअनुसार काठमाडौँभन्दा लुम्बिनी डेढ गुणा बढी प्रदूषित पाइएको वातावरण विभागले जनाएको छ ।
वायु प्रदूषणको स्थिति जाँच गर्ने स्टेनशको २४ घण्टे तथ्यांक केलाउँदा दिउँसोको समय (११ देखि ४ बजेसम्म) कम प्रदूषित रहन्छ भने बिहानी र बेलुकीको समय बढी प्रदूषित छ । वार्षिक तथ्यांक हेर्दा भने कात्तिकदेखि फागुनसम्म अत्यधिक प्रदूषित हुने गरेको पाइएको छ ।
मुख्यमन्त्रीमा भट्ट पक्का– प्रदेश नम्बर ७ को मुख्यमन्त्री माओवादी केन्द्रका त्रिलोचन भट्ट बन्ने पक्का भएको छ । माओवादी केन्द्रको प्रदेश ७ बाट निर्वाचित सांसदको आइतबार बसेको बैठकले भट्टलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको हो ।
संसदीय दलको नेता चुनिएसँगै भट्टलाई वाम गठबन्धनको बहुमत रहेको प्रदेश नम्बर ७ मा मुख्यमन्त्री बन्न बाटो खुलेको छ ।
फोरमको संसदीय दलको नेता– संघीय समाजवादी फोरमले पार्टीका उपाध्यक्ष समेत रहेका सांसद लालबाबु राउतलाई संसदीय दलको नेतामा चयन गरेको छ । फोरमको जनकपुरमा बसेको बैठकले राउतलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । संसदीय दलको नेता चयनसँगै राउतलाई भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ ।
खेल खबर– आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै भारतको दुर्गापुर स्टिल क्लब कोलकोता सुनसरीमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा धरानलाई सडन डेथमा हराउँदै दुर्गापुर स्टिलले अन्तिम चारमा स्थान बनाएको हो ।
निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि १५ मिनेटको समय थपिएको थियो । थपिएको समयमा पनि कुनै टिमका तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय सडन डेथबाट लिइएको हो ।