०९ असार २०८३, मंगलबार

बैंकहरूको आक्रमक योजना, ६ महिनामा १९ खर्ब ११ अर्ब लगानी

माघ २२, २०७४
बैंकहरूको आक्रमक योजना, ६ महिनामा १९ खर्ब ११ अर्ब लगानी

काठमाडौं, २२ माघ– चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकिङ क्षेत्रको लगानी करिब २१ प्रतिशत बढेर १९ खर्ब ११ अर्ब ८५ लाख रुपैयाँ पुगेको छ । बैंकहरूले पुँजी वृद्धि योजनासहित आक्रमक रूपमा लगानी बढाएका छन् । गत वर्ष पुसदेखि यो पुससम्मको एक वर्षमा भने बैंकहरूले तीन खर्ब २९ अर्ब ८३ करोड लगानी बढाएका छन् । 

गत आवको यो अवधिमा बढेको लगानी मर्जरका कारण र चालू आवको लगानी व्यवसाय वृद्धिका कारण भएको बैंकर्सको भनाइ छ। ‘एक वर्षको अवधिमा लगानी राम्रो बढेको छ’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘सबै क्षेत्रबाट अत्यधिक माग आएकाले यस्तो भएको हो। 

नेपाल जस्तो देशमा निक्षेप संकलनको तुलनामा लगानी बढ्नु स्वभाविक हो।’ अझ स्थानीय सरकार बन्यो भने अहिले हुँदै आएको निक्षेप संकलनले नभ्याउने उनको ठम्याइ छ । गत वर्ष पुससम्म वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा गरी १५ खर्ब ८२ अर्ब चार करोड रुपैयाँ लगानी गरेका थिए। गत वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म बैंकले १७ खर्ब २३ अर्ब ४२ करोड लगानी गरेका थिए। हाल भएको लगानी असार मसान्तको तुलनामा एक खर्ब ८८ अर्ब ४५ करोड बढी हो।

बैंकको लगानी ठूलो मात्रामा बढे पनि निक्षेप संकलन १६ प्रतिशत मात्र वृद्धि हुन सकेको छ। गत वर्षको पुससम्म बैंकले १९ खर्ब १३ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए। यो पुसमा बैंकको निक्षेप संकलन लगानीको अनुपातमा न्यून भई २२ खर्ब १४ अर्ब ५१ करोड पुगेको छ।

निक्षेप संकलनको तुलनामा लगानीमा वृद्धि हुँदा अहिले बैंक लगानीयोग्य पुँजीको अभावमा छट्पटाइ रहेका छन्। बैंकहरूको चालू आवको पुससम्मको वित्तीय विवरणअनुसार २८ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी लगानी नेपाल इन्भेस्टमेन्ट बैंकले गरेको छ।

यो बैंकले एक वर्षको अवधिमा करिब साढे १७ प्रतिशतले लगानी बढाएको छ। हालसम्म यो बैंकले एक खर्ब १३ अर्ब ६७ करोड लगानी गरेको छ। गत वर्षको पुससम्म यो बैंकको लगानी ९६ अर्बमात्र थियो। बढी लगानी गर्ने बैंकको दोस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंकको छ।

बैंकले यस अवधिसम्म १७.८४ प्रतिशतले लगानी वृद्धि गरेर एक खर्ब १० अर्ब ६५ करोड र्पुयाएको छ। गत आवको यही अवधिसम्म बैंकको लगानी ९३ अर्ब ९० करोड ६० लाख थियो। एनआईसी एसियाले गत वर्षको तुलनामा करिब ५४ प्रतिशतले लगानी बढाएर एक खर्ब दुई अर्ब २० करोड पुगेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्