
पोखरा २२ माघ- नयाँ शक्ति पार्टी नेपालले प्रदेशसभाका लागि बनाएका संरचनाको हिसाब-किताब सार्वजनिक गर्न माग गरेको छ ।
प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठकमा सोमवार नयाँ शक्ति पार्टीका सांसद् हरिशरण आचार्यले रातारात प्रदेशसभा हल बनाउँदाको खर्च सार्वजनिक गरेर सुशासनको सन्देश दिन प्रस्ताव गरेका हुन् ।
भ्रष्टाचार अहिलेको मुख्य समस्या रहेको भन्दै उनले संघीयताको सफलताका लागि पारदर्शिता जरुरी भएको बताए । ‘प्रदेशमा सम्भावना नै सम्भावना भए पनि कार्यान्वयन चुनौतीपूर्ण छ,’ आचार्यले भने, ‘रातारात हतार-हतारमा सभाहल निर्माण गर्दा लागेको खर्च सार्वजनक गरेर सुशासनको सन्देश दिन सक्छौँ ।’
विगतमा पनि विकास र समृद्धिका प्रतिबद्धता गरिए पनि प्रतिबद्धता पूरा गरेर देखाउनेहरुको कमीले गर्दा मुलुकको यो दुर्दशा भएको उनले बताए ।
‘समृद्धिको लागि दक्षिण वा उत्तर फर्केको दर्शनभन्दा फरक दर्शन जरुरी छ,’ आचार्यले भने । नयाँ शक्तिले सुशासन र पारदर्शितालाई राजनीतिक एजेण्डा बनाएको छ ।
प्रदेश नम्बर ४ मा नयाँ शक्तिका दुई सांसद् छन् । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले चुनाव जितेको गोरखा २ को (क) बाट आचार्यले प्रत्यक्ष चुनाव जितेका थिए ।