
काठमाडौं, २२ माघ — चीनमा एक आमाले छोरीको उपचार खर्च जुटाउन सडकमा आफ्नै स्तनको दूध बेच्न बसेपछि सामाजिक सञ्जाल तातिएको छ ।
मियाओ भिडियो वेबसाइटमा एउटा भिडियो पोस्ट गरिएको छ ।
भिडियोमा मातापिताले आफ्नी छोरीको उपचारका लागि कम्तीमा १६ लाख रुपैयाँ आवश्यक भएको बताएका छन् । छोरी आईसीयूमा भर्ना गरिएकी छन् ।
चीनको सामाजिक सञ्जाल वीबोमा यो भिडियो शेयर भएपछि २४ लाखभन्दा बढीचोटि हेरिसकिएको छ र त्यसमा पाँच हजार कमेन्ट आइसकेका छन् ।
यो भिडियो बच्चाहरूको पार्कमा छायांकन गरिएको हो । यो चीनको ग्वान्डुङ प्रान्तमा रहेको ठूलो शहर शेन्जनमा रहेको छ ।
आमाका अनुसार, उनी छिट्टो पैसा जम्मा गर्नका लागि आफ्नो दूध बेचिरहेकी हुन् किनकि उनकी छोरी आईसीयूमा भर्ना भएकी छन् ।
बच्चीका पिताले अस्पतालमा एक लाख युआन तिर्न बाँकी राखेको बताए । बच्चीको उपचारका लागि यति पैसा तिर्नैपर्ने उनले बताए ।
हालैका केही वर्षमा चीनमा स्वास्थ्य व्यवस्थामाथि प्रश्न उठेको छ किनकि त्यहाँ मेडिकल सेन्टरहरूमा दबाब धेरै बढेको छ र मानिसहरू लाइन लाग्नु नपरोस् भनी अतिरिक्त पैसा पनि दिन्छन् ।
भिडियोमाथि मानिसहरूले भावुक प्रतिक्रिया दिएका छन् । यसलाई शेयर गर्दै उनीहरू सेल मिल्क, सेभ गर्ल भनिरहेका छन् ।
एजेन्सी