
काठमाडौं, २२ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष धर्म–कर्ममा सक्रिय हुन थालेका छन् । धर्मलाई ‘अफिम’ मान्ने कम्युनिस्ट दलका अध्यक्ष रहेका प्रचण्डले सोमवार तनहुँको देवघाटमा सञ्चालित धनधान्याचल विराट महायज्ञमा १ लाख रुपैयाँ दान गरेका छन् ।
सुटुक्क चितवन आएर देवघाट पुगेका प्रचण्ड सोमवार महायज्ञमा प्रमुख अतिथिको रुपमा सहभागी भए । महायज्ञलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई धर्म विरोधी भनेर गरिएको प्रचार गलत भएको बताए । आफूहरुले जनताको धार्मिक आस्थालाई हृदयदेखि नै सम्मान गरेको प्रचण्डको भनाइ थियो ।
प्रचण्डले राज्यका नजरमा सबै धर्म समान रहने भन्दै कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा गर्न हुँदैन भन्ने आफ्नो मान्यता रहेको पनि बताए ।
प्रचण्डले देवघाटधाममा रहेका मन्दिर, आश्रम र विद्यालयहरुको स्तरोन्नतिका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।