
काठमाडौं, २३ माघ– सरकारले सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलामिलाप आयोगको कार्यकाल सकिएकाले एक वर्ष म्यद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए ।
बैठकले उच्चस्तरीय शिक्षा आयोगको म्याद समाप्त भएकाले पुनः चार महिना म्याद थप्ने निर्णय गरेको उनले बताए ।
प्रदेश १ र ४ को प्रदेश बैठक– प्रदेश नम्बर १ र प्रदेश नम्बर ४ को प्रदेशसभाको पहिलो बैठक सोमबार सम्पन्न भएका छन् । दुबै प्रदेशमा प्रदेशसभाका बैठक सभामुखको निर्वाचन मिति तय गर्दै सम्पन्न भए ।
प्रदेश नम्बर ४ को प्रदेशसभाको सभामुख चयनका लागि फागुन ३ गते निर्वाचन हुने भएको छ । प्रहरीको खोजी सूचीमा रहेकाले मनाङका सांसद राजीव गुरुङ (दीपक मनाङे) भने बैठकमा उपस्थित भएनन् ।
यसैगरी प्रदेश नम्बर १ मा सभामुखको निर्वाचन माघ ३० गतेका लागि तय भएको छ । ज्येष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीको अध्यक्षतामा बसेको बैठकले सभामुखको निर्वाचनको मिति तय गर्नुका साथै सभा बैठकको कार्यविधि तय गरेको हो ।
मतपत्र सार्वजनिक– निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको लागि वास्तविक मतपत्र सार्वजनिक गरेको छ । आयोगले प्रदेश अनुसार फरक फरक मतपत्र सार्वजानिक गरेको होे ।
मतपत्रमा उम्मेद्वारको नाम र चिह्न दुबै उल्लेख गरिएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशका मतपत्रको रंग हरियो छ । राष्ट्रियसभाको निर्वाचन माघ २४ मा हुँदैछ ।
बलात्कारका घटना– पछिल्लो समय बालिका र महिला बलात्कार भएका घटना दैनिकजसो सार्वजनिक हुने गरेका छन् । जिल्ला अस्पताल डोटीमा बिरामीको कुरुवा बसेकी बालिकामाथि अस्पतालकै कर्मचारीले बलात्कारको प्रयास गरेका घटना बाहिर आएको छ ।
जिल्ला अस्पतालमा ५ दिनदेखि आफन्तको कुरुवा बसेकी १५ वर्षीया बालिकामाथि अस्पतालमा कार्यरत बिमल कुँवरले बलात्कार प्रयास गरेका हुन् । अस्पताल बाहिर आगो तापीरहेको अवस्थामा बिमलले आफूलाई यौन प्रस्ताव राखेको र नमान्दा आफूमाथि आगो झोसेको पीडित बालिकाले बताएकी छन् ।
यसैबीच, भक्तपुरमा बलात्कारका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चार वर्षीया एक बालिका र अर्की ३४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित श्री इँटा भट्टामा काम गर्ने ४५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सुर्खेत घर भई हाल श्री भट्टामा काम गर्ने ३८ वर्षीया कर्णबहादुर पुनलाई आज पक्राउ गरेको हो ।
त्यसैगरी, चाँगुनारायण नगरपालिका–४ की पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर बुङ्मती स्थायी घर भई भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने १८ वर्षीय वसन्त तामाङलाई पक्राउ गरेको छ ।
माघ २६ गते निर्वाचन– प्रदेश नम्बर १ मा नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि यहि माघ २६ गते विराटनगरमा निर्वाचन हुने भएको छ । प्रदेश नं १ मा एमालेभित्र संसदीय दलको नेतामा केन्द्रीय सचिव भीम आचार्य, पोलिटब्यूरो सदस्य शेरधन राई र केन्द्रीय सदस्य जीवन घिमिरेले दाबी गर्दै आएका छन् ।
यसैगरी, नेपाली कांग्रेस प्रदेश २ को संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् ।
४७ घर हस्तान्तरण– धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा रौतहटमा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण गरिने भएको छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले मंगलबार आयोजित कार्यक्रममा हस्तान्तरण गर्न लागिएको हो ।
टेलिकमले सापटी दिने– नेपाल टेलिकमका प्रिपेड ग्राहकले पनि अब ब्यालेन्स सकिदा सापटी पाउने भएका छन् । नेपाल टेलिकमको १४ औँ बार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो । प्रिपेड कार्डबाहक ग्राहकले अब फोन गर्दागर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् ।
यसैबीच, नेपाल टेलिकमको जिएसएम पोस्पेड सेवा प्रयोग गरेर सर्वाधिक बिल भुक्तानी गर्ने व्यक्तितर्फ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रहेका छन् । नेपाल टेलिकमले सार्वजनिक गरेको विवरणमा खर्च विवरणमा कुलमानले वर्ष भरीमा १ लाख ९७ हजार ६ सय २५ रुपैयाँ खर्च गरेको देखिएको छ ।
खेल खबर– नेपाल प्रहरी सुनसरीमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । धरान रंगशालामा सोमबार भएको क्वाटरफाइनल खेलमा काकडभिट्टा ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै प्रहरीले सेमिफाइनलको यात्रा तय गरेको हो । प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।