
काठमाडौं, २३ माघ– पेट्रोलियम पाइपलाइन विच्छ्याउनका लागि १ हजार ९ सय रुख कटान गर्नुपर्ने अध्ययनले देखाएको छ । सडकको मध्यबिन्दुदेखि ११.५ मिटर पूर्वतर्फ सडक विस्तार गर्दा १ हजार ९ सय रुख कटान गर्नुपर्ने इन्डियन आयल कर्पाेरेसन (आइओसी)को प्राविधिक अध्ययनले देखाएको हो ।
यसअघि बाराको पथलैयादेखि अमलेखगन्जसम्म सडकको मध्यबिन्दुदेखि २२ किलोमिटर पश्चिमतर्फ सडक विस्तार गर्दा २५ हजार रुख काट्नपर्ने प्राविधिक अध्ययनले देखाएको थियो । सोहीअनुसार निगमले काम अगाडि बढाएको जनाएको छ ।
आइओसीका उच्च अधिकारीले हालै गरेको प्राविधिक अध्ययनले सडकको मध्यबिन्दुदेखि ११.५ मिटर पूर्वतर्फ सडक विस्तार गर्दा १ हजार ९ सय रुख कटान गरे पुग्ने प्रस्ताव निगममा पेश गरेको छ । २५ हजार रुख काट्न धेरै समय लाग्ने हुँदा आइओसीले दिएको प्रस्तावलाई निगमले उपयुक्त विकल्पका रूपमा अगाडि बढाएको हो ।
पथलैयादेखि अमलेखगन्जसम्म पश्चिमतर्फ सडक विस्तार गर्दा २५ हजार रुख काट्नुपर्ने प्रस्तावभन्दा आइओसीले दिएको प्रस्ताव उपयुक्त रहेकाले सोहीअनुसार सम्बन्धित निकायलाई पत्राचार गरिएको निगमले जानकारी दिएको छ ।
निगमका नायव कार्यकारी निर्देशक सुशिल भट्टराईले सडक विस्तार गर्न सडक विभागसँग स्वीकृतिको लागि मन्त्रालयमार्फत पत्राचार गरिसकेको जानकारी दिए, कारोबारमा खबर छ ।