
बुटवल, २३ माघ- प्रदेश नम्बर ५ मा प्रदेशसभाको पहिलो बैठक सम्पन्न भएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकार गठनमा केन्द्रित भएका छन् ।
दुवै दलमा मन्त्री बन्न नेताहरुले लबिङ तीव्र बनाएका छन् । मन्त्रालयको संख्या थोरै बनाउने तयारी भएकाले धेरै आकांक्षीले मौका नपाउने निश्चित छ। सोही कारण पहुँचको उपयोग गर्नेदेखि सबैतिर लबिङ गर्ने काममा नेताहरू केन्द्रित छन् ।
यही बीचमा राष्ट्रियसभा चुनाव परेकाले त्यसपछि सरकार गठन हुनेछ । राष्ट्रियसभा निर्वाचन बुधबार हुँदैछ ।
राष्ट्रियसभा निर्वाचन सकिएपछि सरकार गठनका प्रक्रिया अगाडि बढाउने गरी तयारी भइरहेको एमाले र माओवादीका नेताहरू बताउँछन् ।
फागुन २ गतेका लागि प्रदेशसभाको दोस्रो बैठक आह्वान भएको छ । सोही दिन सभामुखको मनोनयन हुने गरी कार्यतालिका बनेको छ । सभामुख निर्वाचनसँगै मुख्यमन्त्री चयनको प्रक्रिया अगाडि बढ्ने छ ।
पहिलो बैठकपछि दलहरू प्रदेश सरकार गठन, सभामुख, उप-सभामुख चयनलगायतका विषयमा केन्द्रित हुन थालेका हुन् । प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक भएपछि माघ ३ गते निर्वाचित जनप्रतिनिधीहरूले शपथ लिएका थिए । सोहीदिन नै एमालेले पहिलो बैठक बसेर नेता छानेको थियो । एमालेले दाङबाट निर्वाचित सांसद शंकर पोखरेललाई संसदीय दलको नेता सर्वसम्मत चयन गरेको थियो ।
यहाँ नेकपा एमालेका ४१ जना, माओवादी केन्द्र २०, नेपाली कांग्रेसका १९, संघीय समाजवादी फोरम ५, राष्ट्रिय जनमोर्चा १ र राष्ट्रिय जनता पार्टी १ गरी ८७ जना सांसद छन् ।
एमाले र माओवादीसँग दुई तिहाइ बहुमत छ । माओवादी र एमालेबीच मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउने गरी सहमति भइसकेको छ । मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता शंकर पोखरेल पक्कापक्की छन् ।
सभामुखका लागि रुकुमका पूर्ण घर्ती मगर, गुल्मीका सुदर्शन बराल, प्यूठानका कृष्णध्वज खड्का र रोल्पाका कुलप्रसाद केसीले लबिङ गरिरहेको माओवादी स्रोतले जानकारी दियो ।
माओवादी केन्द्रका नेता दधिराम न्यौपानेका अनुसार दलको नेता टुंगो लागिसके पनि अरु मन्त्रीलगायतका विषयमा आन्तरिक छलफल जारी छ । स्रोतका अनुसार माओवादी केन्द्रले दलको नेतामा कुलप्रसाद केसीलाई छानेको छ । राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रित हुनुपरेकाले पनि यसतर्फ अझै ध्यान पुग्न नसकेको नेताहरूले बताएका छन् ।
यता कांग्रेसले दलको नेता अझै छानेको छैन । कांग्रेसका नेता तथा प्रदेशमा जेष्ठ सदस्य बलदेव शर्मा पोाखरेलले राष्ट्रिय सभाको चुनावलगत्तै नेता छानिने बताएका छन् । संसदको पहिलो बैठकमा कांग्रेसका तर्फबाट वीरबहादुर रानाले सम्बोधन गरेका थिए ।
नेपाली कांग्रेस प्रदेशमा प्रमुख प्रतिपक्षी रहने हुनाले संसदीय दलको नेता प्रमुख प्रतिपक्षी दलको नेता हुने निश्चित छ । सोही कारण पनि कांग्रेसमा आकांक्षीहरुको संख्या धेरै छ ।
दलको नेताकाका लागि दाङका डिल्ली चौधरी, कपिलवस्तुका वीरेन्द्रकुमार कनौडिया, रूपन्देहीका अष्टभुजा पाठकलगायतको दाबी रहेको कांग्रेसका एक नेताले जानकारी दिए ।
को–को छन् मन्त्रीको दौडमा ?
मन्त्री बन्नका लागि एमालेभित्र आकांक्षीहरुको संख्या अधिक छ । एमालेबाट नवलपरासीका वैजनाथ चौधरी, रूपन्देहीका लिला गिरी मन्त्रीको दौडमा अगाडि छन् ।
निर्वाचित सांसदहरूमध्ये पार्टी वरियतामा शंकर पोखरेलपछि वैजनाथ चौधरी र तेस्रोमा रूपन्देहीका लिला गिरी पर्दछन् । यस्तै पार्टीको प्रदेश कमिटीका संगठन विभाग प्रमुख रहेका भोजप्रसाद श्रेष्ठले मन्त्री बन्ने इच्छा देखाएका छन् । उनीहरू दुवै जनाले मन्त्रीका लागि आ–आफ्नो दाबी पेश गरेका छन् ।
यस्तै प्रमुख सचेतकमा चयन भइसकेका रूपन्देही ५ (१) का सांसद तथा प्रदेश संगठन कमिटीका सचिव भूमिश्वर ढकालले पनि सरकारमा जाने इच्छा जाहेर गरेका छन् । मन्त्रालयको संख्या थोरै भएको, संरचनाको अभाव रहेको र प्रदेश सरकारको कुनै अनुभवसमेत नभएकाले यसपालि धेरै आकांक्षीहरू नपर्ने निश्चित छ ।
माओवादीबाट मन्त्रीको दौडमा रूपन्देहीका दधिराम न्यौपानेको चर्चा छ । शुरुमा उनको नाम सभामुखमा चर्चामा चले पनि अहिले उनी मन्त्री बन्ने चर्चा छ । पार्टीको पोलिव्यूरो सदस्यसमेत रहेका न्यौपानेले राम्रो मन्त्रालयमा दाबी गरिरहेका छन् ।
यस्तै माओवादीबाटै दाङकी दामाकुमारी शर्मा, बाँकेकी कृष्णा केसीले पनि लबिङ गरिरहेका छन् ।
सभामुख नपाएको अवस्थामा गुल्मीका सुर्दशन बराल, प्युठानका कृष्णध्वज खड्का र रोल्पाबाट निर्वाचित कुलप्रसाद केसी पनि मन्त्री बन्न सक्छन् । ‘सबैले आफू निकटबाट यो वा त्यो भन्दै चर्चा चलाइरहेको पाइएको छ, तर पार्टी नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नेछ,’ एक नेताले लोकान्तरसँग भने ।
कानूनअनुसार सांसद सख्याको २० प्रतिशत नबढ्ने गरी मन्त्रीमण्डल गठन गर्नुपर्ने हुन्छ । तर वाम गठबन्धनले अझै सानो मन्त्रिपरिषद् बनाउने तयारी गरेको छ । सो सहमतिअनुसार प्रदेश ५ को मन्त्रिपरिषद् बढीमा ९ सदस्यीय हुनेछ ।
प्रदेशमा कुल सदस्य संख्याको १० प्रतिशत नबढ्ने गरी मन्त्रिपरिषद् गठन गठन गर्ने गरी सहमति भइसकेकाले त्यो भन्दा बढी नहुने एमाले उपमहासचिव एवम् प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले जानकारी दिए ।
‘प्रदेश तह सरकारको बिल्कुलै नौलो र पहिलो अभ्यास भएको र मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गर्दै वाम गठबन्धनले छरितो मन्त्रिपरिषद् बनाउने छ,’ पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले उपमहासचिव पौडेलले भने, ‘आकांक्षा राख्नेहरूको पनि न्यायसंगत व्यवस्थापन हुनेछ ।’
एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालका अनुसार वाम गठबन्धनमा प्रदेश सरकार गठनबारे छलफल जारी छ । माओवादीले संसदीय दलको नेता छानिसकेपछि प्रक्रिया थप अघि बढ्ने छ ।
नेताहरू अहिले राष्ट्रियसभा चुनावका लागि दाङमा छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गत माघ १० गते बुधबार सबै प्रदेशमा उम्मेदवारी दर्ता भएको थियो । राष्ट्रियसभामा रूपन्देहीबाट खिमलाल भट्टराई खुलातर्फ उम्मेदवार छन् ।