०४ असार २०८३, बिहीबार

प्रमुख समाचार : ६५ वर्षमै वृद्धभत्ता दिने निर्णयमा हस्ताक्षर नभएको खुलासा, फोरम–राजपाबीच कुरा मिलेन

प्रमुख समाचार  : ६५ वर्षमै वृद्धभत्ता दिने निर्णयमा हस्ताक्षर नभएको खुलासा, फोरम–राजपाबीच कुरा मिलेन

काठमाडौं, २४ माघ– गत माघ १० गते शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्षमै बृद्धभत्ता र भूकम्प पीडितलाई थप १ लाख दिने निर्णय गरेको  सार्वजनिक भएपनि त्यो निर्णयमा हालसम्म  हस्ताक्षर नभएको खुलासा भएको छ ।  मंगलबार  लोकान्तरले सार्वजनिक गरेको खोजपूर्ण समाचारबाट यस्तो खुलासा भएको हो ।  सो निर्णयमा हस्ताक्षर हुने सम्भावना पनि अब शुन्यप्रायः रहेको छ  । 

‘उक्त विषयको माइन्युट (निर्णयको प्रति)मा अहिलेसम्म हस्ताक्षर भएको छैन र हुने सम्भावना लगभग टरेको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले भन्यो, ‘त्यो ठाडो प्रस्ताव थियो । सम्बन्धित सरकारी निकायबाट अहिलेसम्म कुनै प्रस्ताव आएको छैन । त्यही कारण उक्त निर्णयले वैधता पाएन ।’

राष्ट्रियसभा निर्वाचन 

बुधबार  राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गतको मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गरेका छन् । 

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन मंगलबार  आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको पनि बताए । 

नेपालको संविधानको धारा, ८६ मा प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतका आधारमा एकल सङ्क्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले कूल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने व्यवस्था छ । 

महिला तीन र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि भने सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन् । 

कूल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसकेकाले  अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहेका छन् । 

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्य गरी कूल दुई हजार ५६ मतदाता रहेका छन् । 


प्रतिनिधिसभाको समानुपातिक मतपरिणाम सार्वजनिक गर्ने तयारी 

राष्ट्रियसभा सदस्यको निर्वाचनको अन्तिम मत परिणाम प्राप्त भएलगत्तै आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ । त्यसमा विभिन्न दलले प्राप्त गरेको सिट संख्या, समावेशी समूहबाट हुने प्रतिनिधित्व, न्यूनतम मतसीमा (थे्रसहोल्ड) तीन प्रतिशतभन्दा बढी मत ल्याउने दलको संख्या र सिट तोकी बन्द सूचीमा रहेका उम्मेदवारमध्ये निर्वा्चित हुने उम्मेदवारको नाम सिफारिश गर्न दललाई तीन दिनको समय दिएर पत्राचार गरिनेछ । 

दलहरुले गरेको सिफारिशअनुसार समावेशी समूह मिले÷नमिलेको जाँच गरी नमिलेको भएमा मात्रै दललाई सच्याउन पुनः दुई दिनको समय दिइने व्यवस्था मिलाइएको छ । सबै तयारी र प्रक्रिया पूरा गरी प्रतिनिधिसभा सदस्यको सबै निर्वाचन परिणाम फागुनको पहिलो हप्ताभित्रै राष्ट्रपतिसमक्ष पेश गर्न आयोग दृढ रहेको आयोगले जनाएको छ । 
 संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ कार्यान्वयन गर्ने क्रममा यसअघि नै स्थानीय तह, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भइसकेको छ । 

फोरम नेपाल र राजपाबीच कुरा मिलेन 
प्रदेश नं २ को सरकार निर्माणका लागि सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय 
जनता पार्टीका शीर्ष नेताबीचको मंगलबार भएको वार्ता निष्कर्षविहिन भएको छ । 

दुवै दलकका शीर्ष नेताबीच जनकपुरधामको सीताशरण होटलमा बिहान नौ बजेदेखि थालिएको वार्ता साँझसम्म पनि निष्कर्षमा पुग्न नसकेको हो । 

दुवै दलबीच सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँडलगायत विषयमा सहमति हुन नसकेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको बुझिएको छ । 


बैठकमा सहभागी राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले चाँडै नै पुनः वार्ता गरी यस बिषयलाई निष्कर्षमा पुर्याइने बताए । 


भीआईपीको सवारीमा  सर्वोच्चको चासो
राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्ति (भिआइपी) को सवारी हुँदा सर्वसाधारण नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउनुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ । 

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले भिआइपीको सवारी हुँदा किन सर्वसाधरण नागरिकलाई सडक यात्रामा रोक्नुपरेको भन्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । 

आदेशमा भिआइपीको सवारी हुँदा सडक खाली गराई राष्ट्रपति तथा विशिष्ट व्यक्तिकोे सुरक्षाका कारण सवारीलाई रोक लगाउने काम कुनकुन कानुनमा उल्लेख गरिएको छ भन्नेबारे समेत लिखित जवाफ माग गरिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई अधिवक्ता ज्ञानेश्वर कोइरालाले यही माघ १९ गते दायर गरेको रिट निवेदनमा भिआइपीको सवारीमा नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउँदा नागरिक अधिकारको हनन भएको उल्लेख छ । 
शर्माको घरमा तोडफोड
आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा तोडफोड विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार तोडफोड गरेका छन् । 

मंगलबार  दिउँसो बूढानीलकण्ठ–२ रुद्रेश्वरमा रहेको शर्माको घरमा भएको  ढुंगामुढाबाट घरमा सामान्य क्षति पुगेको छ । 
प्रहरीले तोडफोडमा संलग्न रहेको आरोपमा ४२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । 


सुमार्गीलाई राहत
सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल राष्ट्र बैंकले रोक्का गरेर राखेको करिब रु दुई अर्ब २५ करोड लिनका लागि बाटो खुलेको छ । 

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार बैंकले रकम रोक्का गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि बैंकबाट रकम लिनका लागि बाटो खुलेको हो । 


अदालतले आगामी फागुन २ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत गरेको छ । 

२७ अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति
नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा रु २७ अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ । 

बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवमा गत आवको तुलनामा सार्वजनिक निष्काशन अनुमति लिनेको संख्या र रकम दुबैमा बढोत्तरी भएको हो । 

अघिल्लो वर्षको तुलनामा ६ दशमलव ९८ प्रतिशत तथा रकमको आधारमा ३० दशमलव ४५ प्रतिशतले वृद्धि भई कूल ४६ वटा संस्थाले सार्वजनिक निष्काशनको अनुमति लिएका हुन् । 

यसरी विभिन्न नौवटा कम्पनीको रु दुई अर्ब ८६ करोड बराबरको साधारण शेयर(आइपिओ), तीन कम्पनीको रु दुई अर्ब ६७ करोड बराबरको थप सार्वजनिक निष्काशन (एफपीओ), चार कम्पनीको सामूहिक लगानी कोषको रु चार अर्ब ७० करोड रकम बराबरको इकाई निष्काशन र ३० कम्पनीको रु १७ अर्ब ५३ करोड रकम बराबरको हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिइएको छ । 

बोर्डकाअनुसार ३० वटा संगठित संस्थाले रु सात अर्ब ८२ करोड रकम बराबरको बोनस शेयर दर्ता गराएका छन् । गत आवमा यस अवधिमा ५२ वटा कम्पनीले रु १० अर्ब ८९ करोड बरावरको बोनस शेयर दर्ता गराएका थिए । 


चाँडै वाम एकताको प्रक्रिया टुङ्गिने
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र)सँग वैचारिक र सांगठनिक समस्या समाधान गरेर चाँडै नै वाम एकताको प्रक्रिया टुङ्गिने बताएका छन् । 


मंगलबार इरानको राजधानी तेहरानमा भएको एशियाली राजनीतिक पार्टीहरूको अन्तराष्ट्रिय सम्मेलन (आइक्याप)को २९औँ स्थायी कमिटीको बैठकमा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले अब नयाँ सरकारले भारत र चीनसँग नयाँ मित्रता कायम गरेर अगाडि बढ्नेसमेत धारणा व्यक्त गरे । 

मुख्यमन्त्री छान्न माओवादीलाई सकस
प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)लाई आफ्नो भागमा परेको मुख्यमन्त्री छनोट गर्न निकै सकस परेको छ । 

प्रदेशसभाको मुख्यमन्त्रीमा दाबी गरिरहेका जुम्ला (क) का सांसद नरेश भण्डारी र कालीकोट (ख) का सांसद महेन्द्रबहादुर शाहीबीच निकै रस्साकस्सी चलिरहेको छ । दुवै संसद्हरुले मुख्यमन्त्रीका लागि आफ्नो अडानबाट पछि नहटेपछि छनोट प्रक्रिया लम्बिएको पूर्व गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) ६ नं प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतले बताए । 

खेल खबर 

राष्ट्रिय खुल्ला राष्ट्रिय महिला भलिबल : शिवम् न्यू डायमण्डलाई उपाधि 


 शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला राष्ट्रिय महिला भलिबलको उपाधि आयोजक शिवम् न्यू डायमण्ड एकेडेमीले जितेको छ । विभागीय क्लब एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमण्डले उपाधिमाथी कब्जा गरेको हो । 

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न फाइनल खेलको पहिलो सेट भने न्यु डायमण्डले २६–२४ ले गुमाएको थियो । तर त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जित्दै उपाधि कब्जा गरेको हो । न्यु डायमण्डले दोस्रो, तेस्रो र चौथो  क्रमशः २५–२३, २८–२६ र २५–२३ को सेटमा एपीएफ क्लबलाई पराजित गर्न सफल भयो ।

न्यु डायमण्डको जितमा प्रतिभा मालीले स्पाइकबाट ४४, सर्भिसबाट ५ र ब्लकबाट ३ अंक जोडिन् । त्यस्तै, कृपा अधिकारीले सर्भिसबाट ६ अंक जोडिन् । त्यस्तै, ललिता नाथले स्पाइकबाट १०, सर्भिस र ब्लकबाट समान १–१ अंक जोड्न सफल भईन् । 
एपीएफकी सरस्वती चौधरीले टिमका लागि उत्कृष्ट प्रदर्शन गदै स्पाइकबाट २१, सर्भिसबाट ३ र ब्लकबाट २ अंक प्राप्त गरिन् । एपीएफकै रेश्मा भण्डारीले स्पाइकबाट १२, ब्लकबाट १ र सर्भिसबाट १ अंक अंकको योगदान गर्दा नेमिका चौधरीले स्पाइकबाट ११, ब्लकबाट २ र सर्भिसबाट १ अंक अंकको योगदान गरेकी थिईन् ।

शिवम् सिमेन्ट मुख्य प्रायोजनमा संचालित प्रतियोगिताको उपाधि जितेको न्यु डायमण्डले १ लाख ५१ हजार नगदसहित ट्रफि प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको एपीएफले १ लाख १ हजार नगदसहित ट्रफि हात पारेको छ । मंगलबार नै तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले पश्चिमाञ्चलको टप्स उच्च माविलाई २५–१६, २६–२४ र २५–२१ को सेटमा पराजित गर्दै तेस्रो भएको छ । आर्मीले ५१ हजार र चौथो भएको टप्सले २१ हजार नगद प्राप्त गरेका छन् । चौथो स्थानमा रहेको टप्सले नगद २१ ह्जार प्राप्त गर्न सफल भयो।

प्रतियोगिताका  बेष्ट प्लेयर प्रतिभा माली घोषित भएकी छिन् । उनले शेरवहादुर खड्का स्मृति प्रतिष्ठानले सौजन्य गरेको नगद १० हजार प्राप्त गरिन् । त्यस्तै, स्पाईकर एपीएफकी सरस्वती चौधरी, बेष्ट ब्लकर आर्मीकी संगम महत्तो, बेष्ट क्वीकर न्यु डायमण्डकी ललिता नाथ, बेष्ट सर्भर न्यु डायमण्डकै पनामिका राई, बेष्ट लिब्रो न्यु डायमण्डकी सविना श्रेष्ठ, बेष्ट सेटरमा न्यु डायमण्डकै कृपा अधिकारी घोषित भइन् । उनीहरुले जनहि ५ हजार नगद प्राप्त गर्दा उत्कृष्ट प्रशिक्षकमा न्यु डायमण्डका कुमार राई घोषित भए । नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेसरी मालीबाट सौजन्य गरिएको नगद १५ हजार प्राप्त गरे ।

विदेशका खबर 

जिम्मेवारी पूरा नगरेको आरोपमा सात सेना बर्खास्त
अफगानिस्तानको सरकारले हालै राजधानी काबुलमा भएको आतङ्ककारी हमलामा ११ सैनिकको मृत्युको घटनामा जिम्मेवारी निर्वाह गर्न नसकेको आरोपमा दुई सैनिक जनरलसहित सात सैनिक अधिकारीलाई बर्खास्त गरेको छ । 

जनवरी २९ मा भएको उक्त हमलामा ११ सेनाको मृत्यु भएको र १६ जना घाइते भएका थिए । आक्रमण आफ्नो समूहले गराएको भनी इश्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको थियो । 

अफगानी राष्ट्रपति मोहम्मद असरफ घानीको निर्देशनमा बनेको छानविन समितिले राष्ट्रिय सेनाको राजधानी काबुलबाट नजिकै पश्चिममा रहेको १११ जनाको प्रथम गणमा आइएसले गरेको आक्रमणमा सात सैनिक दोषी भएको ठहर गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको र यसैको आधारमा उनीहरूको बर्खास्त गरिएको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी जनाएको छ । 

अनुसन्धानले घटनामा दुई उच्च सैनिक अधिकारीसमेत आफ्नो जिम्मेवारीप्रति सजग नभएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, “सुरक्षाकर्मीको कामलाई मुल्याङ्कन गरी सजाय र पुरस्कारको व्यवस्था गरिनेछ ।” 

सम्पूर्ण सातै सैनिक अधिकारीलाई बर्खास्तपछि थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पेश गरिएको सरकारले जनाएको छ । 

कडा सुरक्षामा राखिएको भनिएको अफगानिस्तानको राजधानी काबुलमा जनवरीमा भएका तीन छुट्टाछुट्टै आक्रमणमा १०० जनाले ज्यान गुमाएका थिए भने २०० जना घाइते भएका थिए । 

जापानी राजकुमारीको विवाह सन् २०२० मा मात्र 
 जापानी राजकुमारी माको तथा केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाहपूर्वको औपचारिक कार्यक्रमलाई प्रशस्त तयारी नपुगेको भनी आगामी दुई बर्षपछि गर्नेगरी सारिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् । 

सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ बर्षीय माको र कुमुरोको यही मार्चमा परम्परागत अदालती समारोहकाबीच अनुबन्ध हुने र नोभेम्बर ४ मा विवाह गर्ने तयारी रहेको थियो । 

हामी दुवैजनाको विवाहका लागि प्रशस्त तयारी नपुगेकाले अर्को मितिमा गर्नेगरी हाललाई वैवाहिक कार्यक्रम स्थगित गरिएको छ, राजकुमारी माकोद्वारा जारी विज्ञप्तिलाई उद्धृतगरी जापानी सञ्चारमाध्यम जिजीले लेखेको छ । 

उक्त जोडीले आफ्नो विवाह सार्ने निर्णबार यस अघि नै जापानी सम्राट तथा उहाँको परिवारलाई जानकारी गराइसकेको र विवाह आगामी सन् २०२० मा गरिने बताइएको छ । 

अर्कोबर्ष जापानी सम्राट अकिहितोले उमेर र स्वास्थ्यको कारण देखाउँदै आगामी बर्ष गद्दि छोड्ने निर्णय रहेको र उक्त कार्यक्रममा परिवारिक व्यस्तताका कारण विवाहलाई दुई बर्ष पछि सारिएको जिजीले उल्लेख गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्