०६ असार २०८३, शनिबार

राष्ट्रियसभा सदस्य चयनका लागि मतदान जारी, ३२ सदस्यका लागि ५२ उम्मेदवार मैदानमा

राष्ट्रियसभा सदस्य चयनका लागि मतदान जारी, ३२ सदस्यका लागि ५२ उम्मेदवार मैदानमा
जावलाखेलमा जारी प्रदेश ३ को मतदान

काठमाडौं, २४ माघ- राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत देशका ७ मध्ये ६ वटा प्रदेशमा आज मतदान भइरहेको छ । बिहान १० बजेबाट उत्साहपूर्ण वातावरणमा मतदान शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश २ मा भने सबै सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८÷८ जना निर्वाचित हुनेछन् । बाँकी ३ जना मन्त्रिपरिषद्ले नियुक्त गर्नेछन् ।

५६ मध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ३२ सदस्यका लागि ५२ जना उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नम्बर १ को विराटनगरस्थित वीरेन्द्र सभागृह, प्रदेश नम्बर ३ को ललितपुर स्थित फुटबल मैदान, प्रदेश ४ को पोखरास्थित लोकसेवा आयोगको पश्चिाञ्चल क्षेत्रीय निर्देशनालय भवन, प्रदेश ५ को दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र रहेको भवन, प्रदेश नम्बर ६ को सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालय भवन परिसर र प्रदेश ७ को डोटीको दिपायल सिलगढीस्थित पदम पब्लिक मुक्तिनारायण मावि मा मतदान भइरहेको छ ।

प्रत्येक प्रदेशबाट निर्वाचित हुने ८ जनामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुने छन् । महिला तीन र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय र दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकका लागि बहुमतीय प्रणालीबाट मतदान भइरहेको छ ।

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्यहरू गरी कुल २ हजार ०५६ मतदाता छन् । 

प्रदेश नम्बर २ मा सबै निर्विरोध निर्वाचित भइसकेकाले बाँकी ६ प्रदेशका स्थानीय तहका १,२३४ र प्रदेश सभाका ४४३ गरी कुल १,६७७ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्