२१ जेठ २०८३, बिहीबार

सुकिलुम्बा विमानस्थल निर्माणको काम अन्तिम चरणमा, चैतमा परीक्षण उडान

सुकिलुम्बा विमानस्थल निर्माणको काम अन्तिम चरणमा, चैतमा परीक्षण उडान

इलाम, २५ माघ– इलाममा निर्माणाधीन विमानस्थलमा आगामी चैतसम्ममा परीक्षण उडान हुने भएको छ । विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गर्ने भएको हो । 

सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले हाल विमानस्थलमा माटोको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । सबग्रेड कार्य भइरहेको भन्दै उहाँले लेभल परीक्षण गरेपछि चैत महिना सम्ममा परीक्षण उडान गरिने जानकारी दिनुभयो । 

विमानस्थल ग्राभेल नहुँदै हाल विस्तार भइरहेको धावनमार्गमा उडान परीक्षण गरिने भएको हो । उहाँले भन्नुभयो, “विमान उड्नका लागि ९० प्रतिशत काम सम्पन्न भइसक्यो, पिच गर्ने र अन्य धेरै काम भने बाँकी नै छन् ।” 

सातसय मिटर लम्बाइ र अधिकतम ६० मिटर चौडाइको धावन मार्ग यो वर्ष रु एक करोड १५ लाखमा ठेक्का लागेको थियो । माईखोलासम्म नै ढल व्यवस्थापन कार्य रु आठ करोडमा भइरहेको उहाँले बताउनुभयो । माईखोलादेखि पहिरोको जोखिम कम गर्न आठओटा क्यास्केड र व्यवस्थित नाली निर्माण भइरहेको छ । नाली बनाउन ठेक्काको म्याद साउनसम्म भएपनि जोखिम रहेको स्थानमा जेठ सम्ममा काम अगाडि बढाइने बताइएको छ । 

यसअघि शुरुमा रु सात करोड लागतमा धावनमार्ग विस्तार कार्य सम्पन्न भएको थियो भने ढल व्यवस्थापन र पहूँच मार्गको काम पनि भएको थियो । यो वर्ष परीक्षण उडानपछि धावनमार्ग र टर्मिनल भवन निर्माण थालिने इन्जिनियर न्यौपानेले जानकारी दिनुभयो । 

टर्मिनल भवनका लागि डिजाइन शुरु गरिएको जनाइएको छ । उहाँका अनुसार धावनमार्ग कालोपत्र गर्ने प्रक्रिया छिट्टै अगाडि बढाइनेछ । तीन सय २५ रोपनी क्षेत्रमा फैलिएको विमानस्थल निर्माणका लागि स्थानीय निकाय र समाजसेवीको पहलमा जग्गा अधिग्रहण कार्य भएको थियो । यो विमानस्थल निर्माण भएपश्चात् इलाम आसपासका सुदूर पूर्वी पहाडी भेगका स्थानीयलाई सहज हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्