
दाङ, २५ माघ– प्रदेश नम्बर पाँचबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित ८ जनालाई प्रमाणपत्र वितरण गरिएको छ । बुधबार सम्पन्न निर्वाचनबाट निर्वाचित पाँचजना र यस अघि निर्विरोध निर्वाचित भएका तीनजना गरी ८ जनालाई प्रमाणपत्र प्रदान गरिएको हो ।
निर्वाचन अधिकृत हमेन्त रावलले विजयी भएका राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र प्रदान गरेका हुन् । राष्ट्रियसभा सदस्यमा एमालेका चार, माओवादी केन्द्रका दुई र कांग्रेसका दुईजना विजयी भएका छन् ।
दलित तर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार, अपांग तथा अल्पसंख्यक तर्फ नेकपा माओवादी केन्द्रका राजकुमार कुँवर विजयी भए । अन्यमा एमालेबाट खिमलाल भट्टराई, माओवादी केन्द्रका चन्द्र बहादुर खड्का, कांग्रेसबाट दुर्गाप्रसाद उपाध्याय विजयी भएका थिए ।
यस्तै महिला तर्फ एमालेबाट कोमल वली, एमालेबाटै बिना वुढा र नेपाली काङ्ग्रेसबाट अनिता देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।