
काठमाडौं, २६ माघ– दक्षिण कोरियाको प्योङचाङ शहरमा शीतकालिन ओलम्पिक खेलकुदको २३ औं संस्करण आजबाट शुरु हुँदैछ । उदघाटन समारोहको भव्य तयारी गरिएको छ ।
प्रतियोगितामा हिउँमा खेलिने विभिन्न १५ खेल समावेश गरिएको छ । प्रतियोगिता २५ फेब्रुअरीसम्म चल्ने छ । दक्षिण कोरियाका १३ स्थानमा १५ खेलको स्पर्धा हुनेछ ।
विश्वभरका झण्डै ३ हजार खेलाडीले १०२ वटा स्वर्ण पदकका लागि १७ दिनसम्म प्रतिस्पर्धा गर्नेछन् । शीतकालिन ओलम्पिकको यो संस्करण संसारमा असहलेसम्मकै चिसो ओलम्पिक बन्ने मौसम पूर्वानुमानहरुले देखाएका छन् ।
अल्पेन्सीयाको एउटा छानो नभएको रंगशालामा हुने उदघाटन समारोहको बेला तापक्रम माईनस ५ डिग्री सेल्सीयसमा झर्ने जनाईएको छ । यो ओलम्पिकका लागि उत्तर कोरियाका केही खेलाडीसमेत दक्षिण कोरिया पुगेका छन् ।
ओलम्पिककै बहानामा दुई देशका उच्च अधिकारीहरुबीच पटक–पटक छलफल सम्पन्न हुनुलाई सफलताको रुपमा हेरिएको छ । शत्रुतापूर्ण सम्बन्ध रहेका दुबै कोरियाली प्रायद्वीपका खेलाडीहरु यो ओलम्पिकमा एउटै झण्डामुनि आएका छन् ।
उदघाटन समारोहमा दुवै कोरियाली खेलाडीहरुले एउटै झण्डा लिएर मार्चपास गर्नेछन् ।