
बुटवल, २६ माघ– यस क्षेत्रकै पुरानो लुम्बिनी अञ्चल अस्पताल बुटवलमा दरबन्दी अनुसारका चिकित्सकहरू नहुँदा बिरामी मर्कामा परेका छन् । १०६ वर्ष पुरानो अञ्चल अस्पतालमा ९७ जना विशेषज्ञ चिकित्सको दरबन्दी भएपनि अहिले ३७ जना मात्र सरकारी दरबन्दीका चिकित्सक कार्यरत छन् ।
आवश्यकता अनुसारका विशेषज्ञ डाक्टर नहुँदा प्रदेश नम्बर ५ सहित अन्य जिल्लाका बिरामी उपचारका लागि महंगो शुल्क तिरेर निजी अस्पतामा जानुपर्ने अवस्था सिर्जना भएको छ ।
दरबन्दी अनुसारको डाक्टरका लागि पटक–पटक आग्रह गरेपनि सम्बन्धित निकायले चासो नदिएको अस्पतालका मेडिकल रेकर्डर अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिए ।
‘अस्पतालमा ५० जना विशेषज्ञ र ४७ जना मेडिकल अधिकृतको सरकारी दरबन्दी छ’ रेग्मीले भने, ‘स्वास्थ्य मन्त्रालयले दरबन्दी अनुसारको चिकित्सक पठाइदिएन । हामीले करारको सहायता ७५ जना डाक्टर र ४२ जना मेडिकल अधिकृत राखेर उपचार सेवा दिइरहेका छौँ ।’
प्रदेशकै ठूलो अस्पतालमा साविक लुम्बिनी, राप्ती र गण्डकी अञ्चलका साथै भारतको महाराजगञ्ज जिल्लाका बिरामीसमेत उपचारमा आउने गर्छन् ।
डेन्टल सर्जन २, प्याथोलोजिष्ट १, डर्माटोलोजिष्ट (छाला रोग विशेषज्ञ) १, नाक, कान घाँटी १, स्त्री तथा प्रसूति ३ जना (काज), वरिष्ठ मेडिकल अधिकृत १, रेडियोलोजिष्ट १, न्यूरोलोजिष्ट १, यूरो सर्जन १, न्यूरो सर्जन १, नेप्रोलोजिष्ट १ गरी १६ विशेषज्ञ र ४५ जना मेडिकल अफिसरको अस्पतालमा दरबन्दी रिक्त छ । २५० शैयाको अत्पताललाई ३ सय शैया पु¥याउने तयारी छ । तर,दरबन्दी अनुसारका चिकित्सकहरू नआउँदा कठिनाई हुने देखिएको छ ।
अस्पतालमा दैनिक १ हजार बिरामीको उपचार हुने गरेपनि पर्याप्त चिकित्सक नहुँदा बिरामीहरू महंगो शूल्क तिरेर निजी अस्पताल तथा क्लिनिकमा जान बाध्य छन् । अस्पतलमा अस्पताल विकास समिति र सरकारी गरेर ५०४ जना कर्मचारीहरु भए पनि अहिले ४८० जना कार्यरत छन् । अस्पताल लागि स्वास्थ्य मन्त्रालयले यस वर्ष पाँच करोड १८ लाख रकम विनियोजन भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डन डा. कृष्ण खनालले सय वर्ष अगाडिको संरचनामा काम गर्दा बिरामीलाई सेवा प्रवाह गर्न केही कठिनाई भएको बताउँछन् । उनले भने, ‘सरकारले सय वर्ष अगाडि ५० शैया सञ्चालन गर्दा पनि अहिलेको क्षेत्रफल थियो । अहिले ४ सयको अनुमति छ । क्षेत्रफल उही छ । बिरामी बढेका छन् । डाक्टर पनि आवश्यकत अनुसारका छैनन् । जसले गर्दा व्यवस्थापनमा चौतर्फी समस्या छ ।’
अस्पतालमा चार सय शैयाको अनुमति भए पनि अहिले २१० शैया मात्र सञ्चालनमा छन् । अस्पतालको व्यवसायिक सटरबाट वार्षिक ३ करोड भन्दा बढी आम्दानी हुन्छ ।
स्पतालका ७३ वटा व्यवसायिक सटरहरू छन् । अस्पतालको औषधि बिक्री कक्ष (फार्मेसी) सञ्चालनमा आए पनि प्रर्याप्त औषधि नहुँदा बिरामीहरू अन्य निजी फार्मेसीमा जानुपर्ने बाध्यता छ ।
सेक्टर वन कार्यालय रहेको जग्गालाई पनि अस्पताल मातहत ल्याउने स्वास्थ्यमन्त्री दीपक बोहोराले पहल गर्ने आवश्वाशन दिएका छन् । उक्त जग्गा अस्पताल दिएमा पुरानो अस्पतालको भवन हटाएर नयाँ बनाउनेसमेत बताइएको छ ।