
काठमाडौं, २६ माघ — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको समस्या फेरि बढेको छ । अमेरिकामा फेरि कामकाज ठप्पको स्थिति अर्थात् शटडाउन भएको छ ।
अमेरिकी कंग्रेसले सरकारी कामकाजका लागि आवश्यक बजेट पास नगरेकाले यस्तो स्थिति आएको हो ।
धेरै सिनेटरहरूले अस्थायी संघीय बजेटको समयसीमा पूरा हुनुअघि नयाँ खर्च विधेयक पारित हुने आशा गरेको भए पनि त्यसो हुन सकेन ।
यसकारण अमेरिकी सरकारमाथि फेरि आर्थिक संकट छाएको छ ।
जनवरी महीनामा पनि अमेरिकामा शटडाउन भयो । तर त्यतिखेर सरकारी कामकाज राम्ररी चलोस् भनी अस्थायी बजेटलाई सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभबाट पारित गराइएको थियो ।
अहिले अमेरिकाको सरकारी विभाग फेडरल अफिस अफ पर्सनल म्यानेजमेन्टले सबै सरकारी कर्मचारीलाई आफ्नो ड्युटीका विषयमा बुझ्न कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
अमेरिकी कंग्रेसका दुवै सदनले दुई वर्षका नयाँ विधेयक पारित गर्नैपर्छ नभए सरकारी कामकाज बन्द हुन्छ । यस्तो विधेयक अक्टोबर १ अघि नै पारित हुनुपर्छ किनकि त्यही दिनदेखि अमेरिकी सरकारको आर्थिक वर्ष शुरू हुन्छ ।
यसैले गर्दा संसारको कुनै पनि देशमा नभएको शटडाउनको स्थिति अमेरिकामा आउँछ ।
सिनेटबाट विधेयक पारित हुनका लागि ६० मत आवश्यक पर्छ जबकि सत्तारूढ रिपब्लिकन पार्टीसँग जम्मा ५१ मत छ । केही डेमोक्रेट सिनेटरले मत नदिएसम्म विधेयक पारित हुँदैन ।
रिपब्लिकनहरू मेक्सिको सीमामा पर्खाल लगाउनका लागि बजेट मागिरहेका छन् भने डेमोक्रेटहरू गैरकानूनी रूपमा अमेरिका छिरेका बालबालिकालाई आधिकारिक कागजात दिलाउने डाका कार्यक्रम लागू गरिनुपर्ने माग राख्दैछन्
। दुई दलबीच कुरा नमिलेकाले दुई महीनामा दोस्रोचोटि सरकारी कामकाज ठप्प भएको हो ।
एजेन्सी