
काठमाडौं, २७ माघ– निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको २ महिनाभन्दा बढी समयपछि समानुपातिक सिट बाँडफाँट गरेको छ । आयोगले समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या शुक्रबार सार्वजनिक गरेको हो ।
आयोगका अनुसार ४९ दल मध्ये पाँचवटा राजनीतिक दलले मात्र समानुपातिकतर्फ सिट पाएका छन् । समानुपातिक तर्फ सबैभन्दा बढी एमालेले ४१ सिट पाएको छ । कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा नेपाल र संघीय समाजवादी फोरमले ६/६ सिट पाएका छन् ।
दलहरुले बन्दसूचीमा रहेका नाम सिफरिस गरेर पठाएपछि आयोगले दुई दिन नाम सच्याउन दिने र नाम सच्याएपछि विजयीको नाम प्रकाशन गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यहि अनुसार नाम सिफारिस गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
मन्त्रिपरिषद् बैठक– सरकारले राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बालुवाटारमा बसेको बैठकले गोपालकुमार बस्नेत (झापा), चाँदनी जोशी (काठमाडौं) र कृष्णप्रसाद पौडेल (स्याङ्जा) लाई राष्ट्रियसभामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्ले नेतृत्वको समितिले बुझाएको प्रतिवेदन पारित गरेको छ।
बैठकले राष्ट्रकवि मावधप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको पदवी प्रदान गर्ने निर्णय गरेको छ । रामबहादुर बम्जमले तपस्या गरेको पर्साको जंगललाई धार्मिक वन बनाउने र ठूला सवारी साधनको लाइसेन्स एकैपटक लिन पाउने व्यवस्था गर्ने निर्णय पनि बैडकले गरेको छ ।
संसदीय दलको नेता– राजनीतिक दलले पार्टीको प्रदेश संसदीय दलको नेता चयन गरेका छन् । नेकपा एमाले प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा पौडेलले अष्टलक्ष्मी शाक्यलाई पराजित गरी संसदीय दलको नेता बनेका हुन् ।
यस्तै, प्रदेश नम्बर १ मा एमालेको संसदीय दलको नेतामा शेरधन राई विजयी भएका छन् । उनले नेता भीम आचार्यलाई दुई मतले पराजित गरे । पौडेल र राई मुख्यमन्त्री बन्ने पक्का छ ।
यसैगरी, नेपाली कांग्रेस प्रदेश नं ६ मा संसदीय दलको नेतामा जीवनबहादुर शाही चयन भएका छन् । कांग्रेस संसदीय दलको बैठकले शाहीलाई चयन गरेको हो ।
संसदीय दलको विधान पारित– नेपाली काँग्रेसले ‘प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले प्रदेशसभा काँग्रेस संसदीय दलको विधान संशोधनसहित पारित गरेको हो । नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेशमा संसदीय दल कार्यसमिति गठन गर्न उक्त विधान आवश्यक भएकाले तत्काल पारित गर्नु परेको पार्टी कार्यालयले जनाएको छ ।
म्याद थपियो– सरकारले भूकम्पपीडितलाई दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि थप गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई प्रदान गरिने दोस्रो किस्ताको रकम वितरण गर्ने म्याद चैत मसान्तसम्म पुर्याउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणको कामलाई तीब्रता दिन निर्देशन दिए ।
पहिलो सुपुर्दगी– भारतले कानूनी प्रक्रिया पुर्याएर पहिलोपटक मस्ट वान्टेड अभियुक्तलाई नेपाल पठाएको छ । १६ वर्षअघि ठमेलको एक हत्यामा संलग्न भई फरार रहेका आतिनी भन्ने मुखिया गुरुङलाई नेपाल प्रहरीले भारतबाट नेपाल ल्याएको हो ।
२०५८ साल कात्तिक १८ मा उनी लगायतका व्यक्तिले ठमेलको जुलिया स्टुडियो ५४ डिस्कोमा सुवर्ण गुरुङको हत्या गरेका थिए । हत्यापछि फरार रहेका उनको नाममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को पहलमा रेड कर्नर नोटिस जारी गरिएको थियो ।
खेल खबर– आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १३९ रनको लक्ष्य ओमानले ३५.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै जम्मा १३८ रन जोडेको थियो ।
–सशस्त्र प्रहरीको एपीएफ क्लब बाराको सिमरामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नवजनजागृति युवा क्लबमाथि २–० को जित निकाल्दै एपीएफले क्वाटरफाइनलको यात्रा तय गरेको हो । एपीएफका लागि रवि थिङले खेलको ७२ औँ मिनेटमा गोल गरे भने रञ्जन विष्टले इन्जुरी समयमा एक गोल गर्दै दोब्बर स्कोर बनाए ।