
काठमाडौं, २८ माघ– माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको जीएमआर कम्पनीको दुईवटा कार्यालयमा बम विष्फाट भएको छ । कम्पनीको सुर्खेत र दैलेखमा रहेका कार्यालयमा शनिबारराति प्रेसर कुकर बम विष्फोट भएको हो ।
राति करिब १० बजेको समयमा बम विष्फोट भएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार कार्यालयको गार्ड बस्ने पर्खालमा जोडिएको कोठामा बम विष्फोट भएको हो । विष्फोटका कारण नजिकै रहेको घरको सिसा फुटेको छ ।
यसैगरी, दैलेखको आठबीस नगरपालिका वडा नं १ डाबमा रहेको जीएमआरको कार्यालयमा पनि बम बिस्फोट भएको छ । कार्यालयमा दुईवटा बम विस्फोट भएका हुन् । विष्फोटबाट एउटा कोठामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा विष्फोट नभएको अर्को बम पनि भेटिएको छ । विष्फोटको जिम्मा अहिले सम्म कसैले पनि लिएको छैन । तर जनयुद्ध दिवस आउन लागेकाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्नो उपस्थिती देखाउन विष्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ ।
विगतमा विप्लव समूहको नेकपाले बम विष्फोट गराइरहेकाले यो घटनामा पनि उसैको संलग्नता हुनसक्ने क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी सुरेश विक्रम शाहले बताए ।