
काठमाडौं, २४ माघ- अस्पतालहरूमा उपचारका लागि आउने बिरामीको विद्युतीय अभिलेख नहुँदा क्यान्सरका बिरामीको तथ्याङ्क संकलनमा समस्या भएको छ ।
अस्पतालको अभिलेखमा कतिपय बिरामीको क्यान्सर पत्ता लागेको मिति नै नभेटिएपछि योजनाअनुरूप तथ्याङ्क संकलन गर्न समस्या भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्की अनुसन्धान अधिकृत रञ्जिता सुवेदीले लोकान्तरलाई बताइन् ।
‘बिरामीलाई कहिले क्यान्सर पत्ता लाग्यो भन्ने जानकारी हामीलाई चाहिन्छ, तर कतिपय अस्पतालमा यस्तो जनाकारी भेटिएन,’ सुवेदीले भनिन्, ‘हामीले प्रत्यक्ष बिरामीलाई नै भेटेर तथ्याङ्क संकलन गर्ने होइन । क्यान्सरका बिरामीले उपचार तथा थेरापी गर्ने स्वास्थ्य संस्थामार्फत तथ्याङ्क संकलन गर्ने हो ।'
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले क्यान्सरका बिरामीको यकिन तथ्याङ्क संकलन गर्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयसँग स्वीकृति लिएर गत पुस १७ गते ( १ जनावरी )देखि नेपालको जनसंख्याको आधारमा क्यान्सरका बिरामीको यकिन तथ्याङ्क संकलन शुरु गरेको हो ।
नयाँ क्यान्सरका बिरामी कति आए, कति थपिए, कुन उमेर समुहका बिरामीलाई कस्तो प्रकारको क्यान्सर छ, महिला र पुरुषमा कुन क्यान्सर बढी छ, नेपालमा कुन क्यान्सर बढी छ र क्यान्सरका बिरामी बढ्दै छन् वा घट्दैछन् ? भन्ने यकिन विवरण तयार पार्ने परिषद्को योजना छ ।
उपत्यकामा रहेका स्वास्थ्य सेवा विभाग, स्थानीय तहको वडा कार्यालय, प्याथोलोजी ल्याब, विदेशमा रहेका क्यान्सर उपचार गर्ने अस्पतालहरू लगायत विभिन्न ५० वटा स्रोतमा भएको अभिलेखमार्फत क्यान्सर पत्ता लागेका बिरामीको तथ्याङ्क संकलन शुरु गरिएको हो । क्यान्सरका बिरामीको तथ्याङ्क संकलनका लागि पहिलो चरणमा काठमाडौं ललितपुर र भक्तपुरमा ३ जना कर्मचारी परिचालन भएका छन् ।
परिषद्ले अनुसन्धान गर्ने स्रोतसँग नै बिरामीको विवरण नभेटिएपछि योजनाअनुरूप तथ्याङ्क संकलन गर्न समस्या भएको सुवेदीको भनाइ छ । अस्पतालहरूले बिरामीको विद्युतीय अभिलेख राख्नुपर्ने हुन्छ । तर अस्पतालहरूले बिरामीको संख्या मात्रै राख्ने गरेका छन् ।
नेपालमा क्यान्सरको बिरामीको संख्या कति छ र क्यान्सरका बिरामी बढ्दैछन् कि घट्दैछन् भन्ने विषयमा केन्द्रित रहेर अनुसन्धान भएको छैन ।
अस्पतालले दिएको तथ्याङ्कहरू भए पनि कुन क्षेत्रमा कति क्यान्सरका बिरामी छन् भन्ने आधिकारीक तथ्याङ्क छैन । जसका कारण नेपालमा क्यान्सरको बिरामीको संख्या अनुमान कै भरमा भनिँदै आएको छ । सरकारले क्यान्सरको बिरामीको उपचारमा १ लाख सहयोग र मासिक ५ हजार भत्ताको व्यवस्था गरेको छ । तर, बिरामीको यकिन तथ्याङ्क नहुँदा बजेट विनियोजनसमेत अनुमानकै भरमा गरिएको छ ।
बिरामीको यकिन तथ्याङ्क नहुँदा केही समयअगाडि स्वास्थ्य मन्त्रालयले क्यान्सरलगायत ३ प्रकारका बिरामीको मासिक भत्ता वितरणका लागि रकम विनियोजन गर्दा विवादसमेत भएको थियो ।
अनुसन्धानबाट क्यान्सरका बिरामी कति छन् भन्ने यकिन तथ्याङ्क आउने परिषद्ले जनाएको छ । बिरामीको तथ्याङ्क संकलन गर्न नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधियुक्त डाटा सिस्टम राखिएको छ । यो डाटा प्रक्रिया अन्तर्राष्ट्रिय क्यान्सर रजिष्ट्री सोसाइटीले बनाएको सफ्टवेयरमा इन्ट्री हुनेछ ।
तथ्याङ्कले क्यान्सरका बिरामीलाई सरकारले दिने १ लाख र मासिक ५ हजार दिने योजनालाई सहयोग पुग्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष प्राध्यापक डाक्टर अञ्जनीकुमार झाले बताए ।
उनले भने, ‘यो अनुसन्धानबाट नेपालको जनसख्याको आधारमा क्यान्सरका बिरामीको आधिकारिक तथ्याङ्क आउने हुँदा सरकारलाई क्यान्सरको रोकथामका लागि नीति तथा योजना बनाउन र बजेट विनियोजन गर्न सहयोग पुग्छ ।’
शुरुवाती चरणमा उपत्यकाभित्र तथ्याङ्क संकलन गर्न थालिएको छ । आगामी वर्षदेखि देशैभर संकलन गरिने झाले बताए । तथ्याङ्क संकलन कार्य नियमित हुने उनको भनाइ छ ।