
धनगढी, २९ माघ - प्रदेश नम्बर ७ को प्रदेशसभाको आज बसेको बैठकले बझाङबाट निर्वाचित नेकपा (एमाले)का सांसद अर्जुनबहादुर थापा प्रदेशसभाको सभामुख पदमा निर्विरोध निर्वाचित गरेको छ ।
प्रदेशसभाको पहिलो अधिवेशनको आज भएको दोस्रो दिनको बैठकमा सभामुखको भूमिका निर्वाह गर्नुभएका ज्येष्ठ सांसद दिव्येश्वरी शाहले सांसद अर्जुनबहादुर थापालाई प्रदेश नम्बर ७ को प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस् भनी एउटा मात्र प्रस्ताव प्राप्त हुन आएकाले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उनी प्रदेशसभाको सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
ज्येष्ठ सदस्य शाहले सांसद थापा सभामुख पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा उहाँको सफल कार्यकालका लागि हार्दिक शुभकामनासहित बधाई दिएका थिए ।
यसअघि बैठकमा सभामुखको अनुमति लिएर प्रस्तावक नेकपा (एमाले)का सांसद दीर्घबहादुर सोडारीले सांसद अर्जुनबहादुर थापालाई सभामुखमा निर्वाचित गरियोस् भनी दर्ता गराएको प्रस्ताव प्रस्तुत गराएका थिए ।
प्रस्तावकले प्रस्ताव पेश गर्नु भएपछि नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्टले समर्थन गरे ।
प्रदेशसभाको अर्को बैठक २०७४ फागुन ६ गते दिउँसो १ः०० बजे सम्मका लागि स्थगित गरिएको छ ।