१८ असार २०८३, बिहीबार

ओली र प्रचण्ड दुवै अध्यक्ष वा सहअध्यक्ष हुने : आलोपालो प्रधानमन्त्री !

फागुन १, २०७४
ओली र प्रचण्ड दुवै अध्यक्ष वा सहअध्यक्ष हुने : आलोपालो प्रधानमन्त्री !

काठमाडौँ, १ फागुन- एमाले र माओवादी एकीकरणनजिक पुगेका छन् । एकता घोषणापछिको निरन्तर छलफललाई सोमबार निर्णायक मोड दिँदै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकीकृत पार्टीमा दुवै अध्यक्ष वा सहअध्यक्ष रहने र प्रधानमन्त्री पनि आलोपालो प्रणालीबाट चलाउने समझदारी भएको छ । दुई नेताबीच मंगलबार थप छलफल हुने र उनीहरूबीचको समझदारी बुधबार एकता संयोजन समितिको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ, नयाँ पत्रिकामा खबर छ ।

दुवै पार्टीका नेताहरूले छलफल सकारात्मक निष्कर्षमा पुगेको जानकारी दिँदै दुई दिनभित्रै एकता संयोजन समितिको बैठकमा छलफल भएपछि एकताको मोडालिटी सार्वजनिक हुने बताएका छन् । ‘अहिले नै सहमति सार्वजनिक गर्ने वेला भएको छैन, तर दुवै नेताले सहमतिको धेरै नजिक रहेको सन्देश दिनुभएको छ,’ एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले भने, ‘कुराकानी धेरै सकारात्मक रूपमा अघि बढेको छ, मंगलबार बिहान दुई अध्यक्षबीच एकचरण छलफल भएपछि अन्तिम टुंगो लाग्नेछ ।’

एकताको विभिन्न मोडालिटीमा छलफल हुँदै आए पनि महाधिवेशनअघिसम्म दुवै पार्टी अध्यक्षसहित नेताहरूको ‘सम्मानजनक स्थान’ रहने गरी सहमति भएको हो । अनौपचारिक वार्तामा सहभागी दुवै पार्टीका दोस्रो तहका नेताहरूले यसलाई संक्रमणकालीन मोडालिटीको संज्ञा दिएका छन् ।

दुई घन्टा वार्तापछि बनेको समझदारी

नेतृत्व : एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैजना एकीकृत पार्टीमा अध्यक्ष वा सहअध्यक्ष रहने

सरकार  : आलोपालो प्रणालीअनुसार पहिले केपी ओली नेतृत्वमा र दोस्रो चरणमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार बन्ने

संगठन : स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटी छरितो बनाउने, निर्वाचन आयोगको कानुनअनुसार महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने

नीति : जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको जनवादमध्ये मिल्ने विषय अहिले नै र बाँकी विषय महाधिवेशनबाट टुंग्याउने

salt training

कमेन्ट गर्नुहोस्