
काठमाडौं, १ फागुन-नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवाद त्यागेर पूँजीवादी बाटोमा लागेको आरोप लगाएका छन् । उनले प्रचण्डले क्रान्तिलाई धोका दिएको समेत आरोप लगाए ।
२३औं माओवादी ‘जनयुद्ध’ दिवसको अवसरमा नेकपा र क्रान्तिकारी माओवादीले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष वैद्यले संगै जनयुद्ध लडेका साथी पूँजीवादी बाटोमा लाग्दा आफूलाई दुःख लागेको बताएका हुन् ।
कार्यक्रममा हालै माओवादी छाडेका नेता लोकेन्द्र विष्टले प्रचण्ड पूँजीवादी बाटोमा लागेकोले आफूले माओवादी छाडेको बताए । प्रचण्डहरू विदेशी इसारामा पुरानो सत्ता पुनर्जीवित गर्ने अभियानमा लागेका कारण आफूले सो पार्टी छाडेको उनको भनाइ थियो ।
