
काठमाडौं, २ फागुन– दुई चरणमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकको अन्तिम नतिजा आज राष्ट्रपतिलाई बुझाउने तयारीमा निर्वाचन आयोग जुटेको छ ।
गत मंसिर १० र २१ गते निर्वाचन सम्पन्न भएको थियो भने राष्ट्रिय सभाको समेत निर्वाचन सकिएकाले सबै सूची मिलाएर आज राष्ट्रपति विद्यादेबी भण्डारीलाई बुझाउने तय भएको आयोगको भनाइ छ ।
आयोगका प्रवक्ता नवराज ढकालले दलहरुले सच्याएको सूची बुझाएपछि आयोगले आजै राष्ट्रपतिलाई परिणाम बुझाउने तयारी गरेको जानकारी दिए ।
आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएपछि नयाँ सरकार गठनको बाटो खुल्ने छ ।
एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकारको गठनको तयारी थालिएको छ ।
यसैबीच आयोगले आजै सूची बनाउने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने तयारी गरेको बताइएको छ । देउवाले आज बस्ने मन्त्रिपरिषद् बैठकमा राजीनामा बारे छलफल गर्ने र सम्भवतः आजै देशबासीको नाममा सम्बोधन गरेर राजीनामा दिने बालुवाटार स्रोतले जनाएको छ । राजनीनामा बारे मंगलबार देउवाले निकटस्थहरुसँथ छलफल समेत गरेका थिए ।