
जनकपुरधाम २ फागुन– प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले हिन्दू धर्म अनुसारको साइतमा शपथ गर्ने भएका छन् । बुधवार मुख्यमन्त्री बनेका राउतको शपथ ग्रहण समारोह बिहीवारका लागि तय गरिएको छ ।
पण्डित सन्तोष पाण्डेले शपथको लागि बिहीवार दिउँसो १२ बजेर १९ मिनेटदेखि देखि १ बजेर १३ मिनेटको साइत जुराइदिएका हुन् । हिन्दूधर्म अनुसार नै उनलाई गृहप्रवेशको साइत अपरान्ह ४ देखि ४ बजेर ४५ मिनेटकोबीचमा जुरेको पाण्डेले लोकान्तरलाई बताए ।
जनकपुरमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुख्यमन्त्री राउतलाई शपथ गराउने छन् । बहुसंख्यक हिन्दू सांसदको सुझाव अनुसार उनले साइत हेराएका हुन् ।
शपथपछि राउत जनकपुरको जानकी मन्दिर जान्छन् कि जानकी मन्दिर पछाडि रहेको मस्जिदमा जानेछन् भन्नेमा जनकपुरमा कौतुहलता बढेको छ ।
शपथ समारोहमा उपेन्द्र सहभागि हुने
मुख्यमन्त्रीको शपथ समारोहमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत राजपाका नेताहरु सहभागि हुनेछन् । राजपा अध्यक्ष महन्थ ठाकुरलाई पनि निमन्त्रणा गरिएको छ ।
मुख्यमन्त्री राउतले बिहीवार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । राजपाका जितेन्द्र सोनल र शैलेन्द साह तथा फोरमका विजय यादवलाई समावेश गरेर मन्त्रीमण्डल गठनको तयारी गरेका हुन् ।
भोजपुरीमा गर्नु पर्ने शपथ हिन्दीमा
प्रदेश सभाका सभामुखमा राजपाका सरोजकुमार यादवले हिन्दी भाषामा शपथ लिएका छन् । भोजपुरा क्षेत्र भनिने बाराबाट निर्वाचित यादवले भोजपुरी भाषामा नभइ हिन्दीमा शपथ लिएको भनेर जनकपुरमा विरोध भएको छ ।