
काठमाडौँ, ४ फागुन- आफ्नो आठमहिने कार्यकालमा प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय निर्वाचन, प्रदेश सभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयन गराउन सफल भए । यस अर्थमा प्रधानमन्त्रीको कार्यकाल सफल भएको छ ।
आफैंले गराएको निर्वाचनमा पराजित भएपछि पनि उनले नीतिगत र दीर्घकालीन असर पर्ने प्रशासनिक निर्णय गर्न कत्ति पनि संकोच मानेनन् । खासगरी लामो समयदेखि रोकिएका नियुक्तिका निर्णय गर्न र आर्थिक सहायता वितरण गर्न पनि उनले यही समय रोजे ।
यही काममा उनले निर्वाचनअगाडि ध्यान दिन सकेको भए उनको दलको प्रतिष्ठा बढ्ने थियो । तर, पराजयको जिम्मा लिनुको सट्टा सुशासनमा सम्झौता गर्दा उनको छवि थप धुमिल भएको छ ।
प्रधानमन्त्रीका रूपमा देउवाले ०५२ मा ५२ जनासम्मलाई मन्त्रिपरिषद्मा अटाएर इतिहास बनाएका थिए । आफ्नै इतिहास तोड्दै यसपालि उनले ६४ जनालाई मन्त्री बनाए ।
देउवा मन्त्रिपरिषद्मा १५ जना विनाविभागीय मन्त्री भए । खासमा सरकारमा कांग्रेससँग र निर्वाचनमा एमालेसँग मिल्ने माओवादी नीतिले यस्तो अवस्था आएको हो । नयाँ पत्रिकामा खबर छ |