काठमाडौं, २६ मंसिर — रुसले आइतवार गरेको हवाई आक्रमणका कारण इस्लामिक स्टेट ९आइएस० का आतंकवादीहरू सिरियाको पाल्मिरा शहरबाट भाग्न थालेका छन् । पाल्मिरामा कब्जा जमाएको केही घन्टामा नै रुसी आक्रमणका कारण आइएस भागेको हो ।

आक्रमणपछि आइएस लडाकुहरू शहरको छेउछाउका इलाकामा लुक्न गए । रुसी रक्षा मन्त्रालयका अनुसार यस आक्रमणमा परी ३०० आइएस लडाकुहरू मारिए भने ११ ट्यांक र गाडी नष्ट भए ।
सिरियाली सेनाले पनि शहरमा थप सैनिकहरू पठाएको छ ।
आइएसले सन् २०१५ को मे महिनामा पाल्मिरामा कब्जा जमाएको थियो तर यसै वर्षको मार्च महिनामा लखेटिएको थियो । बिहीवार उसले पाल्मिरामा कब्जा जमाउने अभ्यास थालेर शनिवार शहर प्रवेश गरेको थियो ।
रुसी विमानहरूले रातभरिमा ६० वटा आक्रमण गरेका थिए । शहरमा बाहिरी भागमा अझै लडाईं चलिरहेको बताइएको छ ।
पहिले अल्मिरालाई कब्जा गरेपछि आइएसले पुरातत्व विभागका निर्देशकको टाउको काटेका थिए अनि दुई हजार वर्ष पुराना दुईवटा मन्दिर र अन्य संरचना पनि नष्ट गरेका थिए ।
तेलखानीहरू नजिकै भएकाले यस इलाकामा आइएसको आँखा परेको हो ।
सिरियाकै अर्को शहर अलेप्पोमा रुसी सहायतामा सरकारी सेनाले विद्रोहीलाई हराउँदै गरेको बेलामा आइएसले पाल्मिरामा आक्रमण गरेको हो ।
द गार्डियन