
काठमाडौं, ४ फागुन– एकतापछि बन्ने पार्टीको मार्गदर्शक सिद्धान्तलाई लिएर विवाद उत्पन्न भएपछि त्यसबारे थप छलफल गर्न एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच आज छलफल हुने भएको छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज ‘वान टु वान’ वार्ता हुँदैछ । दुई अध्यक्ष बिहानैबाट छलफलमा जुट्ने भनिए पनि समय र स्थान भने खुलाईएको छैन ।
दुई अध्यक्षबीच आज हुने छलफलले पार्टी एकताको बिषयमा ठोस निर्णय गर्ने बताइएको छ । पार्टीको मार्गदर्शक सिद्धान्तमा दुई पार्टीबीच केही मतभेद देखिएपनि मध्यमार्गी निकासका लागि पहल गर्दै एकता प्रक्रियालाई निर्णयमा र्पुयाउन आजको छलफल केन्द्रित रहने छ ।
हिजो ओलीको व्यस्तताका कारण दुई पार्टीबीच छलफल हुन सकेको थिएन । बुधबार भएको बैठकमा एमालेले आफ्नो मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद जबजलाई कतै न कतै उल्लेख गर्नुपर्ने बताएपछि माओवादीले पनि माओवाद राख्नुपर्नेमा जोड दिएको थियो ।
यी बिषय औपचारिक रुपमा टुङ्गोमा नपुग्दासम्म सरकारमा नजाने माओवादी केन्द्रले बताएका छ । मुख्य बिषयमै बिवाद देखिएपछि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेपनि तत्काल मन्त्री भने नपठाउने माओवादी केन्द्रले जनाएको थियो ।