
काठमाडौं, ५ फागुन– नेकपा एमालेसँगको पार्टी एकता र नयाँ सरकारमा सहभागी नभएको विषयलाई लिएर बाहिर आएका समचारहरुमा कुनै सत्यता नरहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । उसले एकताका बारेमा लगातार छलफल भइरहेको र सबै विषय प्याकेजमै सहमतिको प्रयास भइरहेको स्पष्ट पारेको छ ।
काठमाडौंमा शुक्रबार भएको पार्टी निकट शिक्षकहरुको सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा माओवादी सरकारमा सहभागि नभएको विषयलाई लिएर बाहिर आएका हल्लामा कुनै सत्यता नभएको बताए ।
राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मन्त्रीहरुको विषय टुङ्ग्याएर प्याकेजमै एक दुई दिनभित्रै पार्टी एकताको खाका तयार गर्ने गरी दुई पार्टीबीच छलफल चलिनै रहेको उनको भनाइ छ ।
यसैगरी, नेकपा एमालेले पनि एक÷दुई दिनभित्रै विस्तार हुने मन्त्रिपरिषद्मा माओवादी सहभागी हुने जनाएको छ । एमाले नेता एवम् नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेको बताएका हुन् । उनले अघिल्लो सरकारले गरेका कतिपय निर्णयहरु गलत भए वा प्रक्रियागत रुपमा ठिक नभए ती निर्णयहरुलाई आफूहरुले खारेज गर्न सक्ने बताए ।
शपथ ग्रहण– प्रदेश नम्बर चारलाई अबको पाँच बर्षभित्र उज्यालो प्रदेश बनाउने त्यहाँको सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको पहिलो बैठकले उज्यालो प्रदेश बनाउन आउँदो २ वर्षभित्र सबै गाउँ र बस्तीमा विद्युत सेवा पु¥याउने निर्णय गरेको हो ।
बैठकले अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने, प्रत्येक स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानीसँग जोड्ने, आगामी २ वर्षमा प्रत्येक गाउँमा खोनेपानी सेवा पुर्याउने र स्थानीय तहसँग सहकार्य गरेर गाँउहरुलाई बहु सांस्कृतिक गाउँ बनाउने लगायतका निर्णय पनि गरेको छ ।
प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मा रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानुम मन्त्रीमा माओवादीका हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा माओवादीकै लेक बहादुर थापा मगर रहेका छन् ।
मनमोहनले देखाएको बाटो– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले देखाएको बाटोबाट आफू अघि बढने प्रतिबद्धता व्यक्त गरेका छन् । ललितपुरको सानेपास्थित मनमोहन प्रतिष्ठानमा रहेको अधिकारीको शालिकमा शुक्रबार श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले स्वर्गीय अधिकारीको निष्ठा, दृढता र जनताप्रतिको बफादारिता र इमान्दारितालाई पदसँग तुलना गर्न नमिल्ने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले मनमोहन अधिकारीले भारतको स्वतन्त्र संग्राममा समेत सहभागी भएर विश्व मानवजातिकै सेवा गरेको चर्चा गरे ।
प्रदेश पाँचको योजना– प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले पदभार सम्हालेलगत्तै आफ्नो प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गरेका छन् । उनले प्रदेशमा रहेका जिल्लाको विकासमा समान हिसाबले अघि बढ्ने सरकारको योजना रहेकाभन्दै केही दिनमै प्रदेशको स्वेतपत्र सार्वजनिक गर्ने तयारीमा रहेको उल्लेख गरे ।
प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पद तथा गोपनियताको शपथ लिएका छन् । यसैगरी, प्रदेश नम्बर ६ को उपसभामुखमा सांसद पुष्पा घर्ती मगर निर्विरोध चयन भएकी छिन् ।
प्रदेश नम्बर २ को उपसभामुखमा उपमाकुमारी देव निर्विरोध निर्वाचित भएकी छिन् ।
दुर्घटनामा ८ जनाको मृत्यु– शुक्रबार भएका बिभिन्न दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ सेल्फीडाँडा नजिकै बा ११ च २२७५ नम्बरको जीप बेलुका ५ बजे दुर्घटना हुँदा चारजनाको मृत्यु भएकोे छ भने १७ यात्रु घाइते भएका छन् ।
सदरमुकाम सिन्धुलीमाढीबाट तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा गोलान्जोर गाँउपालिका–५ रतनचुराका १९ वर्षीय नवराज थापा, ५० वर्षीया लक्ष्मी देवकोटा, २० वर्षीय युवराज लुंगेलीमगर र २२ वर्षीय रेशम कार्कीको मृत्यु भएको छ ।
यसैगरी, शुक्रबार नै सन्धुपाल्चोकको बाह्रबिसेमा तातोपानीबाट बाह्रबिसतर्फ आउँदै गरेका बा ४ ख २८१२ नम्बरको मिनी ट्रक बाह्रबिसे कोदारी सडकखण्डको बोर्डल्याण्ड नजिकै दुर्घटना हुँदा चालक बाह्रबिसे नगरपालिका ८ निबासी शेखर अधिकारी, सोही वडाका सुब्बा अधिकारी र कमल अधिकारीको मृत्यु भएको छ ।
देउवाले वालुवाटार छाडे– निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार आफ्नै निजी निवास बुढानीलकण्ठ सरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले प्रधानमन्त्री निवास बालुवाटार छोडेर निजी निवास सरेका हुन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि काँग्रेस सभापतिसमेत रहेका देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आएका थिए ।
खेल खबर– एकदिवसीय विश्वकप क्रिकेटको छनोटअन्तर्गत नेपालले घरेलु टोली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्ने भएको छ । आगामी फागुन २० गते सुरु हुने प्रतियोगिताको पहिलो दिन नेपालले जिम्बाबेको सामना गर्नेछ ।
विश्व क्रिकेट लिग डिभिजन–टु को उपविजेता बन्दै विश्वकप छनोटमा प्रवेश गरेको नेपाल समुह बीमा रहेको छ । सो समुहमा जिम्बाबेसँगै अफगानिस्तान, हङकङ, नेपाल र स्कटल्याण्ड रहेका छन् । छनोट प्रतियोगिताका आधारमा ३ एसोसिएट राष्ट्रलाई सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता प्रदान गरिनेछ ।