
काठमाडौँ, ५ फागुन - मकवानपुर घर भई हाल कीर्तिपुर बस्ने विजय बस्याल औषधि र अस्पताल भनेपछि तर्सिनुहुन्छ । चार वर्ष पहिले वीर अस्पतालमा चिकित्सकले लेखेको औषधिको मात्रा नबुझेर बढी औषधि प्रयोग गर्दा उहाँको झन्डै ज्यान गएको थियो । त्यसैले होला उहाँले अहिले पनि औषधि र अस्पताल भनेपछि तर्सिनुहुन्छ ।
विजयकी दिदी रीता बस्यालले भन्नुभयो, ‘‘चिकित्सकले रोगअनुसार औषधि र औषधिको मात्रा लेखेको ठीक थियो तर चिकित्सकले दुई पटक खाने भन्नुभएकोमा भाइले नबुझेर दुई वटा एकैपटक खाएकाले त्यो समस्या भएको थियो । भाइलाई अचेल अस्पताल र औषधिको त कुरा नै गर्न हुँदैन । ’’
विजय टाइफाइड हुँदा बढी मात्राको औषधि खाएर पिसाबमा सङ्क्रमण भई झन्डै एक महिना त्रिवि शिक्षण अस्पताल बस्नुप¥यो । सो क्रममा औषधि खान नमान्दा सङ्क्रमणबाट बच्न सुईबाट औषधि दिनुप¥यो ।
रीताले भन्नुभयो, ‘‘त्यसैले होला भाइको बुझाइमा अस्पतालमा सुई मात्रै रोपिन्छ र औषधि खाए झन् ठूलो रोग लाग्छ भन्ने छाप परेको छ । ’’ विजय त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । यस घटनाले राजधानीकै ठूला अस्पतालमा पनि सुन्न वा बोल्न नसक्ने व्यक्तिका लागि पहुँच छैन भन्ने स्पष्ट हुन्छ ।
राष्ट्रिय बहिरा महासङ्घले अहिलेसम्म बहिरा व्यक्तिका लागि सञ्चार गर्ने दोभाषेको व्यवस्था कुनै पनि अस्पतालमा नभएको दाबी गर्दै आएको छ । महासङ्घका उपाध्यक्ष एवम् काठमाडौँ जिल्ला बहिरा सङ्घका अध्यक्ष सत्यदेवी वाग्लेले सरकारी अस्पतालमा मात्रै होइन, निजी स्तरबाट सञ्चालित अन्तर्राष्ट्रिय स्तरका अस्पतालमा बहिराका लागि सञ्चार गर्ने (साङ्केतिक भाषा जानेको दोभाषे) को व्यवस्था छैन भन्नुुभयो ।
उहाँका अनुसार नेपालमा झन्डै तीन लाख बहिरा तथा सुस्त श्रवण भएका व्यक्ति छन् । वाग्लेले नेपाली साङ्केतिक भाषाका दोभाषे विनोद कमालीमार्फत भन्नुभयो, ‘‘नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ तर हामीजस्ता बहिरा व्यक्तिको अस्पतालको उपचारमा सहज पहुँच नभएका कारण रोग दबाएर मर्नुपर्ने अवस्था छ । ’’
महासङ्घमा दोभाषेका रूपमा कार्यरत कपालीले चिकित्सक र बिरामीबीच सञ्चारमा समस्या भएका कारण एक जना बहिरा साथीले गर्भमै बच्चा गुमाउनुपरेको केही वर्षअघिको घटना सुनाउनुभयो ।