०८ साउन २०८३, शुक्रबार

प्रदेश नं ६ मा मन्त्रालय बाँडफाँडको टुङ्गो लाग्यो, एमालेले कुन-कुन मन्त्रालय पायो ?

प्रदेश नं ६ मा मन्त्रालय बाँडफाँडको टुङ्गो लाग्यो, एमालेले कुन-कुन मन्त्रालय पायो ?

सुर्खेत, ५ फागुन - प्रदेश नं ६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालय भागबण्डा टुङ्गो लागेको छ । 

मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोलि सरकार गठनको तयारी गरेका छन्  । मन्त्रालयको विवाद समाधान भएपछि मुख्यमन्त्री शाहीले आइतबार मन्त्रीहरुको नियुक्ति गर्ने भएका छन्  । 

प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)को भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय परेको छ भने नेकपा (एमाले) को भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय परेको छ । 

माओवादी केन्द्रले मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्रालय आफूसँग राख्ने योजना बनाए पनि एमालेले उक्त मन्त्रालय दाबी गर्दा माओवादी केन्द्रले छोडेको छ । 

मुख्यमन्त्री शाहीले आफ्नो दलको भागमा परेका मन्त्रालयको मन्त्री छान्न आन्तरिक तयारी गरिरहेको  सांसद कृष्णा शाहले बताइन्  । माओवादी केन्द्रको भागमा परेका आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जुम्लाका सांसद नरेश भण्डारी र सामाजिक विकास मन्त्रालयमा रुकुमका सांसद विमला केसीलाई मन्त्री बनाउने तयारी गरेको सांसद शाहले जानकारी दिइन् । 

मुख्यमन्त्री पाएको माओवादी केन्द्रले आज मन्त्रालयको टुङ्गो लगाएपछि भोलि बिहान बस्ने संसदीय दलको बैठकले मन्त्री बन्ने भण्डारी र केसीको नाम अनुमोदन गर्ने उनले बताइन्  । 

नेकपा (एमाले) ले भने आफ्नो भागमा परेका चारवटा मन्त्रालयका लागि मन्त्री छान्न आन्तरिक गृहकार्य भइरहेको संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए  । भोलिसम्म मन्त्री बन्नेको नाम टुङ्गो लाग्ने र शपथ लिने उनले बताए  । 

वाम गठबन्धनका दुई दलबीच एमाले चार र माओवादीले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको थियो । यो प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १३, काँग्रेसका छ र राप्रपाका एकजना सांसद छन् । 

salt training

कमेन्ट गर्नुहोस्