
काठमाडौं, ६ फागुन — प्याडम्यान रिलिज भएपछि बलिउड अभिनेत्री सोनम कपूर स्कोर ट्रेन्ड्स इन्डियाको लोकप्रियता चार्टको अग्रणी स्थानमा पुगेकी छन् । पछिल्लो पाँच हप्तादेखि पहिलो स्थानमा रहेकी दीपिका पादुकोणलाई पछार्दै उनी अग्रस्थानमा पुगेकी हुन् ।
सोनमपछि यस सूचीमा प्रियंका चोपडा छिन् ।
स्कोर ट्रेन्ड्सको आँकडाअनुसार, फेब्रुअरी १ देखि ८ सम्म सोनम ४४.९७ अंकका साथ तेस्रो स्थानमा थिइन् । तर ८ फेब्रुअरीदेखि १५ फेब्रुअरीको अवधिमा सोनमले २३.७३ अंकको वृद्धिका साथ ६८.७० अंक पाएर प्रथम स्थान ओगटिन् ।
केही हप्तादेखि पहिलो स्थानमा रहेकी दीपिका यो हप्ता ५४.४१ अंकका पाँचौं स्थानमा छिन् ।
अमेरिकाको मिडियाटेक कम्पनी स्कोर ट्रेन्ड्स इन्डियाले दिएको यो आँकडा प्रमाणित हुन् र डाटा संकलन गर्न धेरै अनुसन्धान गरिन्छ ।
स्कोर ट्रेन्ड्सका सहसंस्थापक अश्विनी कौलले भने, ‘हामीले यो डाटा १४ वटा भारतीय भाषामा उपलब्ध ६०० समाचार स्रोतबाट जम्मा पारेका हौं । एक हप्ताभरि मिडियामा आएको डाटाअनुसार नै ताजा आँकडा आएको हो ।’
सोनम यो हप्ता अग्रणी स्थानमा आउनुमा फेसबूक, ट्विटर, भाइरल समाचार, समाचारपत्र र डिजिटल साइटहरूमा प्याडम्यानको रिलिजको समयमा उनको चर्चा नै कारण भएको बताइन्छ ।
एजेन्सी