काठमाडौं, २६ मंसिर सामाजिक संजाल फेसबुक मार्फत ठगी गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर उपमहानगरपालिका सुन्धारा बस्ने अनिलनाथ बोकी श्रेष्ठ र काठमाडौं बनस्थली मार्ग बस्ने अनिता महर्जन रहेका छन् ।

श्रेष्ठ काठमाडौं ठमेल र महर्जन बनस्थलीबाट पक्राउ परेका हुन् । उनीहरुले समाजिक संजाल फेसबुक मार्फत अपरिचित व्यक्तिहरुलाई साथी बनाई आवश्यकता अनुसार सहयोग गर्न तत्पर रहेको भ्रमपूर्ण आश्वासन दिई प्रलोभनमा पार्ने गरेको प्रहरीले बताएको छ ।
उनिहरुले मित्रता स्वरूप बहुमुल्य वस्तु उपहार पठाइदिएको भनी फोटो समेत सामाजिक संजालमा प्रेषित गरी सो सामाग्री प्राप्त गर्नका लागि सेवा शुल्क वापतको रकम आफ्नो बैंक खातामा जम्मा गर्न फोन मार्फत एवं अन्य ब्यक्तिहरू समेत उपस्थित गराई पटक पटक आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न रहेको प्रहरीले बताएको छ । सो सम्बन्धमा ब्यूरोबाट आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।