
काठमाडौं, ९ फागुन- एमाले अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आगामी पाँच वर्ष नै प्रधानमन्त्री रहने भएका छन् ।
वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको आधारभूत विषयमा सहमति गरेसँगै ओली पाँच वर्ष प्रधानमन्त्री रहने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि पाँचै वर्ष एकीकृत पार्टीको अध्यक्ष रहने भएका छन् ।
महाधिवेशनसम्म ओली र दाहाल दुवै पार्टी नेतृत्वमा रहनेछन् भने महाधिवेशनपछि चुनावी प्रतिस्पर्धा नगरी दाहाल एकीकृत पार्टीको अध्यक्ष छानिने भएका छन् ।
दुई दलका शीर्ष नेताले सोमबार हस्ताक्षर गरेको एकताका आधारपत्रको सातौं नम्बरमा आगामी महाधिवेशन एकताको महाधिवेशनका रूपमा समझदारीका साथ सम्पन्न गर्ने उल्लेख छ । एकताको आधारपत्रमा नै आगामी महाधिवेशन ‘समझदारी’का रूपमा गर्ने सहमति गरेर दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको महाधिवेशनमा चुनावी प्रतिस्पर्धाबिनै दाहाललाई अध्यक्ष हुने बाटो खुला गरिएको हो ।
दुई पार्टीबीच एकताका आधारहरू नामक सातबुँदे सहमतिमा सरकार र पार्टी नेतृत्वको विषय उल्लेख गरिएको छैन । तर, शीर्ष नेतृत्वमा पाँच वर्ष नै ओली प्रधानमन्त्री र दाहाल अध्यक्ष रहने ‘जेन्टल एग्रिमेन्ट’ भएको हो, राजधानी दैनिकमा खबर छ ।