
काठमाडौं, ९ फागुन — अस्ट्रेलियाले न्युजील्यान्डलाई टी२० ट्राइसिरिजको बुधवार सम्पन्न फाइनल खेलमा १९ रनले हराएको छ ।
बेलायत, अस्ट्रेलिया र न्युजील्यान्ड सम्मिलित यो ट्राईसिरिजको फाइनल न्युजील्यान्डको अकल्यान्डमा भएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजील्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५० रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले १४.४ ओभरमा तीन विकेटको क्षतिमा १२१ रन बनाउँदा पानीले म्याचमा अवरोध पु–याएपछि
डकवर्थ लिविस प्रणालीअनुसार अस्ट्रेलिया १९ रनले विजयी भयो ।
अस्ट्रेलियालाई जीत दिलाउनका लागि एश्टन अगरको प्रमुख भूमिका रह्यो । उनले चार ओभरमा २७ रन दिएर महत्त्वपूर्ण तीन विकेट लिँदै न्युजील्यान्डलाई सानो स्कोरमा समेट्न योगदान गरे ।
रिचर्डसन र टेले दुई–दुई अनि स्ट्यानलेक र स्टोइनिसले एक एक विकेट लिए ।
न्युजील्यान्डका लागि रोस टेलरले सर्वाधिक ४३ रन बनाए । कोलिन मुनरोले २९ र मार्टिन गुप्तिलले २१ रनको योगदान गरे ।
अस्ट्रेलियाको ब्याटिङको कुरा गर्दा डार्सी शर्टले ३० बलमा ५० रन बनाए भने डेभिड वार्नरले २५ रनको योगदान गरे ।
न्युजील्यान्डका लागि सोधी, स्यान्टनर र मुनरोले एक एक विकेट लिए ।
तीन विकेट लिएका अगर म्यान अफ द म्याच घोषित भए ।