२९ जेठ २०८३, शुक्रबार

कांग्रेस संसदीय दलको बैठक १२ फागुनमा, नेता छान्न रस्साकस्सी

फागुन १०, २०७४
कांग्रेस संसदीय दलको बैठक १२ फागुनमा, नेता छान्न रस्साकस्सी

काठमाडौं १० फागुन–नेपाली कांग्रेस संसदीय दलको बैठक १२ गते शनिवार बस्ने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको पहिलो संयुक्त बैठक बस्न लागेको जानकारी दिए । 

संसदीय दलको कार्यालय सिंहदरबारमा १२ गते बिहान ९ बजे बस्ने बैठकमा संसदीय दलको नेता चयनको बिषयमा छलफल हुनेछ । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दावी पेश गरेका छन् । 

संस्थापन पक्षले देउवालाई नै संसदीय दलको नेता बनाउने रणनीति बनाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने महामन्त्री शशांक कोइरालाको नाम अगाडी सारेको छ । 

पौडेल पक्षका नेता सिंहले पनि दलको नेताका लागि दावी गरेका छन् । कांग्रेसमा नेतृत्व हस्तान्त्ररणका लागि बहस शुरु गरेका युवा नेताहरुले देउवाले संसदीय दलको नेता दावी गर्न नमिल्ने बताउँदै आएका छन् । 

चुनावमा पार्टी पराजयको जिम्मा लिदै देउवाले सभापतिबाट समेत राजीनामा गर्नुपर्ने सो समूहको माग छ । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा सक्रिय भूमिका खेल्नु पर्ने भएकोले देउवालाई सो पद दिन नहुने युवा नेताहरुको भनाइ छ । 

संस्थापन पक्ष भने जसरी भएपनि दलको नेता देउवालाई वनाउने रणनीतिमा लागेका छन् । सहमतिको सम्भावना क्षीण रहेकोले दलको नेता छान्न मतदान हुने सम्भावना रहेको कांग्रेस स्रोत बताउँछ ।

पौडेल समूहमा पनि शशांक कि प्रकाशमान भन्नेमा विबाद छ । महामन्त्री भएकोले आफू स्वतह दलको नेताको दावेदार रहेको शशांकको भनाइ छ । 

दलको नेता भएमा आशन्न पार्टी महाधिवेशनमा पार्टी सभापति लड्ने शशांकको योजना छ । 
 

कमेन्ट गर्नुहोस्