
काठमाडौँ, ११ फागुन- माओवादीसँगको सहमतिमा एमालेले १० मन्त्रालय पाउने प्रारम्भिक समझदारी भए पनि पदाधिकारीसहित तीन गुणा बढी आकांक्षी छन्, आजको नयाँ पत्रिकामा खबर छ । उपाध्यक्ष भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, सचिवहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठसहित थुप्रै आकांक्षी देखिएका हुन् । मन्त्रालय बाँडफाँड नटुंगिएका कारण दुवै पार्टीबाट कम्तीमा पाँचजना समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी लम्बिएको छ । सबै तयारी पूरा भएपछि आइतबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्री ओलीका पूर्व राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।
प्रस्तावित मन्त्रालय
एमाले : अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना तथा सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला, पर्यटन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या
माओवादी : गृह, जलस्रोत तथा ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति, सहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन तथा वातावरण, कृषि, सहकारी तथा भूमि व्यवस्थापन, श्रम, रोजगार तथा महिला, बालबालिका