
काठमाडौं, ११ फागुन– नेपाल–भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित दुईपक्षीय प्रबुद्ध समूहको बैठक काठमाडौंमा सुरु हुँदैछ । शुक्रबारदेखि शुरु हुने सातौँ चरणको बैठक शनिबारसम्म चल्ने छ ।
प्रबुद्ध समूहमा नेपालको नेतृत्व पूर्व मन्त्री तथा कुटनीतिज्ञ डा. भेषबहादुर थापाले गर्नेछन् भने भारतीय समूहको नेतृत्व भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले गर्दै छन् । यसपटकको बैठकमा यसअघिका बैठकमा भएका मौखिक र लिखित छलफलका आधारमा तयार पारिएको मस्यौदा आदान–प्रदान हुने बताइएको छ ।
यसअघि गएको पुस २६ र २७ गते नयाँ दिल्लीमा भएको बैठकमा नेपाल–भारतबिच भएका पुराना सन्धि सम्भौताको पुनरावलोकन गर्ने विषयमा छलफल भएको थियो । यो पटकको बैठकमा त्यहि छलफलको आधारमा दुवै पक्षले तयार पारेको मस्यौदा आदान–प्रदान गरी अध्ययन गरिने र त्यसमा छलफल हुने स्रोतले बताएको छ ।