काठमाडौं, ११ फागुन — भारतको पञ्जाब नेसनल बैंकमा भएको ११ हजार ३०० करोड भारुको घोटालापछि प्रवर्तन निर्देशनालयले दोषी नीरव मोदीमाथि लगातार कारवाही गरिरहेको छ ।
शुक्रवारले ईडीले छापा मार्दा नीरव मोदीको घरबाट बहुमूल्य घडीहरू भेटेको छ । अनि बैंक खाताहरूमा तीस करोड भारु पनि रोक्का गरिएको छ । ईडीले मोदीको १३.८६ करोड भारुको शेयर पनि रोक्का गरिदिएको छ ।
नीरव मोदीको घरमा १७६ वटा स्टीलका आल्मारी, १५८ बट्टा र ६० वटा प्लास्टिकका बाक्सामा बहुमूल्य घडीहरू भेटिए ।
यसअघि ईडीले मोदी र उनको कम्पनीका नौवटा विलासी कारहरू जफत गरेको थियो । ती कारमा करीब ६ करोड भारुबराबरको रोल्स रोयस पनि छ । यसबाहेक दुईवटा मर्सिडिज बेन्ज जीएल ३५० सीडीआईएस, एक पोर्श पनामेरा,
तीन होन्डा र एक टोयोटा इनोभा पनि जफत गरिएको छ ।
मंगलवार सीबीआईले मुम्बईको अलीबागमा २७ एकड क्षेत्रमा बनेको नीरव मोदीको विलासी फार्महाउसमा पनि छापा मारेको थियो ।
बिहीवार नीरव मोदीको पत्रको जवाफ दिँदै पीएनबीले पैसा फर्काउने ठोस योजना छ कि छैन भनी सोध्यो । यसअघि नीरवले पीएनबीलाई पत्र पठाएर पैसा फर्काउनमा रहेका समस्याको बारेमा उल्लेख गरेका थिए ।
एजेन्सी