
सुर्खेत, ११ फागुन–प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले समृद्ध देश बनाउनका लागि केन्द्रकृत सोचबाट माथि उठ्नु पर्ने बताएका छन् ।
शुक्रबार निर्वाचन आयोगको सुर्खेतस्थित भवन उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले अब प्रदेश निर्माणको जिम्मा जनप्रतिनिधिको भएकाले केन्द्रको मुख ताक्न नहुनेमा जोड दिए । ‘अब हामी हाम्रा स्थानीय स्रोत र साधनहरुो पर्याप्त मात्रामा प्रयोग गरेर देश निर्माणमा जुटौं ।’ उनले थपे, ‘यदि त्यसो गर्न सकेको खण्डमा हामीले ऐतिहासिक रुपमा सम्पन्न गराएका चार चरणका चुनावले सार्थकता पाउनेछ, चुनाव सफल भएको ठानिनेछ ।’ उनले राजनीतिक दलहरुलाई आफूले यो आग्रह मात्रै गरेको प्रष्ट्याए । डा. यादवले निर्वाचनलाई विस्वसनीय र शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न सहयोग गरेकोमा सबैलाई धन्यवाद दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले निर्वाचन आयोग साधन स्रोत सम्पन्न हुनु हामी सबैका लागि गौरवको कुरा रहेको बताए । उनले भने, ‘अब आफ्नै भवन भएको छ, आगामी निर्वाचनमा यसले ठुलो सहयोग गर्नेछ ।’ प्रमुख जिल्ला अधिकारी कार्कीले निर्वाचनमा अप्ठ्याराहरु कम हुदै गएको बताए । यसअघि भएका सबै निर्वाचनहरु शान्तिपुर्ण रुपमा सम्पन्न भएको, आयोगले विश्वसनीयता कायम गर्न सकेको उनको भनाइ थियो ।